तिलोत्तमाका विद्यालय मंसिर ७ गतेदेखि खुल्ने

रुपन्देही । रुपन्देहीको तिलोत्तमा नगरपालिकाका सामुदायिक तथा संस्थागत विद्यालय मंसिर ७ गतेदेखि खुल्ने भएका छन्। कोरोना महामारीको कारण गत चैतदेखि बन्द रहेका विद्यालयहरू जनस्वास्थ्य प्रोटोकल पालना गर्दै विद्यार्थीलाई भौतिक रूपमै कक्षाकोठामा शिक्षण सिकाई क्रियाकलापमा सहभागी गराउने गरी खुल्ने भएका हुन्।

नगर प्रमुख बासुदेव घिमिरेले संघीय सरकारले तय गरेको विद्यालय सञ्चालनसम्बन्धी कार्यढाँचा अनुसार जनस्वास्थ्य प्रोटोकल मापदण्ड अवलम्बन गरी विद्यार्थीको पठनपाठन सुचारू गर्ने निर्णय गरिएको जानकारी दिए।नगर शिक्षा समितिको विस्तारित बैठकमा छलफल गरी नगरस्तरीय कोभिड संकट व्यवस्थापन केन्द्रको बैठकले बिहीबार पारित गरेको मापदण्डमा रहेर विद्यालय खोल्ने निर्णय गरिएको घिमिरेले बताए।

तोकिएको मापदण्डअनुसार विद्यालय सञ्चालन भएरनभएको अनुगमन गर्न नगरपालिकाले जनप्रतिनिधि, राजनीतिक दल, शिक्षक संघ–संस्था, प्याब्सन, एनप्याब्सनका प्रतिनिधि रहेको अनुगमन समिति समेत गठन गरेको छ। मापदण्डअनुसार विद्यालयले कक्षाकोठाभित्र विद्यार्थीहरूको भौतिक दूरी कायम गर्न एउटा बेञ्चमा दुई जना मात्रै विद्यार्थी राख्न पाउने छन्।

विद्यार्थी संख्या, भौतिक पूर्वाधारको उपलब्धता समेतको आधारमा कक्षा एकदेखि आलोपालो विधिबाट कक्षा सञ्चालन गर्ने मापदण्ड तय गरिएको घिमिरेले जानकारी दिए। तर कक्षा १ भन्दा तलका प्लेग्रुप, नर्सरी, एलकेजी, युकेजीका विद्यार्थीलाई भने अर्को निर्णय नहुँदासम्म विद्यालय बोलाउन पाइने छैन।

नगरपालिकाका शिक्षा शाखा प्रमुख गंगाराम आचार्यका अनुसार ज्वरो तथा रुघाखोकी लागेका विद्यार्थी वा घरका कुनै सदस्यलाई कोरोना संक्रमण भएमा ती परिवारका विद्यार्थीलाई विद्यालय पठाउन पाइने छैन। यस्तै, चार सयभन्दा बढी विद्यार्थी संख्या भएका विद्यालयले अनिवार्य रूपमा कम्तिमा एक जना विद्यालय नर्सको व्यवस्था गर्नुपर्ने र सोभन्दा कम विद्यार्थी भएका विद्यालयले नजिकको सरकारी स्वास्थ्य संस्थासँग समन्वय र सम्पर्क गरी आवश्यक स्वास्थ्य सेवा उपलब्ध गराउनु पर्ने मापदण्डमा उल्लेख छ।

नेपाल सरकारले तय गरेको मापदण्ड अनुसार तिलोत्तमा नगरपालिकाले १२ वटा सामुदायिक विद्यालयमा नर्सको व्यवस्था गरिसकेको समेत नगरप्रमुख घिमिरेले बताए। नर्सको व्यवस्था नभइसकेका र नजिक स्वास्थ्य संस्था रहेका विद्यालयमा आवश्यकता अनुसार स्वास्थ्य संस्थाबाट स्वास्थ्य सेवा उपलब्ध गराइने उनले बताए।

यसैगरी विद्यालयमा विद्यार्थीहरूलाई लामो समय नराख्ने गरी खाजा खाने समय नराखी निरन्तर कक्षा सञ्चालन गर्नुपर्ने र बस सेवा सञ्चालन गर्दा सिट क्षमताको आधारमा विद्यार्थी राख्न र बस प्रयोग नगरेको दिनको भाडा नलिन पनि मापदण्डमा तोकिएको छ। नगरपालिकाले आगामी मंसिर १० गतेभित्र शिक्षा शाखामा सरकारले तोकेको मापदण्ड अनुसार कक्षा सञ्चालन कार्ययोजना पेश गर्न पनि विद्यालयहरूलाई आग्रह गरेको छ। सेतोपाटीबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार