राजधानीका तत्काल विद्यालय नखुल्ने

काठमाडौँ । काठमाडौं उपत्यकाका विद्यालयहरू तत्काल पुनः सञ्चालन नहुने भएको छ । उपत्यकामा कोरोना संक्रमण कम नभएकाले तत्काल विद्यालय सञ्चालन गर्न नसकिने स्थानीय तहहरूले जनाएका हुन् ।

काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले उपत्यकामा अझै संक्रमणको जोखिम रहेको बताए । ‘देशभरि सबै एक प्रकारको स्थिति छैन, कतिपय ठाउँ कोरोना संक्रमणमुक्त छन्,’ मेयर शाक्यले भने, ‘तर काठमाडौं उपत्यका अझै संक्रमणको हटस्पट नै छ ।’

उपत्यका नगरपालिका फोरमले कार्यढाँचाबारे बृहत् छलफल गरी निर्णय लिने मेयर शाक्यले जनाए । फोरम उपत्यकाका १८ वटा नगरपालिका तथा महानगरपालिकाको छाता संस्था हो । ‘अब हामी शिक्षा र स्वास्थ्य मन्त्रालयसँग समन्वय गरेर निर्णय लिन्छौं,’ फोरमका अध्यक्षसमेत रहेका शाक्यले भने ।

सरकारले स्थानीय तहलाई विद्यालय सञ्चालनको जिम्मा दिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले परिमार्जनसहित ‘विद्यालय सञ्चालनसम्बन्धी कार्यढाँचा, २०७७’ ल्याएर स्थानीय तहलाई विद्यालय खोल्ने जिम्मा दिएको हो । विद्यालय पुनः सञ्चालन गर्दा स्थानीय तहभित्र संक्रमणको जोखिम नभएको वा सबैभन्दा न्यून रहेको क्षेत्रमा अवस्थित विद्यालयबाट सुरु गर्ने गरी व्यवस्था गर्न सकिने कार्यढाँचामा उल्लेख छ ।

स्थानीय तहको निर्देशनबमोजिम विद्यालयले सञ्चालनको समय, मितिसहित स्थानीय भाषामा समेत सूचना प्रकाशन तथा प्रसारण गर्नुपर्नेछ । क्वारेन्टाइन र आइसोलेसन सेन्टरका रूपमा प्रयोग भएका विद्यालयलाई हटाएर निर्मलीकरण गर्नुपर्नेछ । हरेक विद्यालयले आवश्यकताअनुसार स्वास्थ्यकर्मीसहित हेल्थ डेक्स निर्माण गरी विद्यालयका विद्यार्थी तथा शिक्षकको नियमित स्वास्थ्य परीक्षण तथा परामर्श लिनुपर्नेछ । गत कात्तिक २० गतेको मन्त्रीस्तरीय निर्णयबाट कार्यढाँचा स्वीकृत गरेको हो । कार्यढाँचाअनुसार चैतमा स्थगित कक्षा १२ को परीक्षा यही मंसिर ९ गतेबाट सञ्चालन हुनेछ ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक वैकुण्ठ अर्यालले कार्यढाँचा जारी भएसँगै अर्थ मन्त्रालयसँग स्थानीय तहलाई स्रोत व्यवस्थापन रकमान्तर गर्न पत्राचार गरेको बताए । उनले भने, ‘रकमान्तर भएसँगै स्थानीय तहले विद्यालय खोल्न तथा सबै किसिमको प्रक्रिया पुर्‍याएर पूर्वाधारसहित विद्यार्थी डाकेर पठनपाठन सुचारु राख्न सक्नेछन् ।’ ekantipur बाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार