दुर्गममा टेलिकमको सेवा पुगेपछि स्थानीय हर्षित

थम्मन थापा
बागलुङ ।केही समय पहिले यस क्षेत्रमा कुनै पनि कम्पनीको मोवाइल सेवा उपलब्ध थिएन । यहाँका मानिसहरू सूचना आदान प्रदान गर्न की त कटुवालको भर पर्नु पर्थ्यो की त सम्बन्धित ठाउँमै धाउनु पर्ने वाध्यता थियो ।

मोवाइल सेवा नहुँदा सेवा ग्राहिलाइ निकै सास्ती खेप्नु परेको थियो । बागलुङ बजार देखि ३६ कोष पश्चिम तमानखोला गाउँपालिका वडा नं ६ नर्जाखानी र वडा नं २ बोङ्खानीमा नेपाल टेलिकमले पहिलो पटक मोवाइल सेवा विस्तार गरेको छ । दुवै ठाउँमा नयाँ टावर निर्माण गरी सेवा सञ्चालनमा ल्याइएको नेपाल टेलिकम बागलुङले जनाएको छ ।

शुक्रबारदेखि स्थानीय बासिन्दाले गुणस्तरीय भ्वाइस र डाटा सेवा पाएको नेपाल टेलिकम बागलुङका प्रमुख तथा वरिष्ठ इञ्जिनीयर केशव शर्माले बताउनुभयो । यसअघि ती दुवै गाउँमा मोबाइल सेवा थिएन । भौगोलिक विकटताका कारण अन्यत्रका टावरबाट सिग्नल पहुँच पुग्दैनथ्यो ।

मोबाइलमा कुराकानी गर्न अग्लो ठाउँ भएतिर जानुपर्ने बाध्यता थियो । टावर सञ्चालनमा आएपछि त्यहाँका २५० र बोङ्खानीका ३५० घरधुरीमा मोवाइलको भ्वाइस र डाटा दुवै सेवा सहज भएको छ । नर्जासँगै छिमेकी गाउँ पात्ले, भित्रीवन र बोङ्खानी आसपासका पुस्डाँडा, लसुने, हिजा, लामाचौर लगायतका बस्ती सेवाबाट लाभान्वित भएका छन् ।

स्थानीयवासी मङ्गला आधारभूत विद्यालयका प्रधानाध्यापक लेखबहादुर छन्त्यालले मोबाइलमा कुरा गर्न डाँडातिर जानुपर्ने बाध्यता हटेको बताउनुभयो । “एक वर्षदेखि सेवाका लागि टेलिकमसँग माग गरिरहेका थियौँ, अहिले टावर बनेर पनि सेवा शुरु भइसक्यो, हामी सबै खुशी छौँ”, उहाँले भन्नुभयो । इन्टरनेटका लागि तत्काललाई दुवै टावरबाट थ्रिजी सेवा सञ्चालन गरिएको वरिष्ठ इञ्जिनीयर शर्माले बताउनुभयो ।

ती ठाउँमा पछि थ्रिजीलाई स्तरोन्नति गरी फोरजी सेवा दिने टेलिकमको योजना छ । नर्जा र बोङ्खानीमा अन्य दुरसञ्चार सेवा प्रदायकको समेत अहिलेसम्म सेवा पुग्न सकेको थिएन । वडा नं ६ का वडाध्यक्ष कुलबहादुर छन्त्यालले मोबाइल सेवाले स्थानीयवासीको दैनिकी सहज बनेको बताउनुभयो । उहाँका अनुसार तीव्र गतिको इन्टरनेट सेवाका लागि फोरजी विस्तारको काम पनि धमाधम भइरहेको छ ।

धवलागिरिका चार जिल्ला बागलुङ, पर्वत, म्याग्दी र मुस्ताङमा गरी हालसम्म ६५ ठाउँमा फोरजी सेवा सञ्चालन भइसकेको छ । बाँकी झण्डै ५० ठाउँमा फोरजी सञ्चालनको तयारी भइरहेको छ । टेलिकमले ग्राहकको माग र डाटाको खपत बढी हुने ठाउँमा फोरजी सेवा समेत विस्तार गर्ने गरेको छ । ग्रामीण क्षेत्रमा उच्च गतिको इन्टरनेट सेवा फोरजी सञ्चालनमा आएपछि सञ्चारको क्षेत्रले फडको मार्न थालेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार