सडक कालोपत्रेमा ढिलाई भएको भन्दै मंगलाघाटबासी आन्दोलित

बेनी । म्याग्दीको बेनी–दरबाङ सडक अन्तरर्गत बेनी नगरपालिका वडा नम्बर ७ को मंगलाघाट खण्डमा सडक कालोपत्रे निर्माणमा ढिलासुस्ती भएको भन्दै स्थानीय आन्दोलित भएका छन् । आन्दोलित स्थानीयबासीले शुक्रबार एक घण्टा सडक अवरुद्ध गर्नुका साथै जिल्ला प्रशासन कार्यालय घेराउ समेत गरेका छन् । सडक निर्माणको ठेक्का लिएको ठेकेदार कम्पनीको ढिलासुस्ती र सम्बन्धीत निकायको बेवास्ताका कारण कालोपत्रे नभएको भन्दै महारानी टोल विकास संस्था ,न्यु मंगला टोल विकास संस्था र महारानी टोल विकासको अगुवाइमा संयुक्त रुपमा चरणबद्ध आन्दोलनको घोषणा गरेका छन् ।

स्थानीयवासीले हिमपाइप राखेर पर्चा सहित सडक अवरुद्ध पारेपछि पश्चिम म्याग्दीबाट आवतजावत गर्ने सवारीसाधन ठप्प भएको थियो । मंगलाघाट टोल विकास संस्थाका अध्यक्ष कृष्णबहादुर बानियाँले जिल्लामा सांसद, मन्त्री, बेनी नगरपालिकाका मेयर, प्रजिअ लगायतलाई गरिएको अनुरोधलाई बेवास्ता गरेपछि बाध्य भएर बाटो नै बन्द गर्नुपरेको बताउनुभयो । कालोपत्रे समयमै निर्माण गर्न आग्रह गरेपनि ठेकेदार कम्पनी सम्बन्धीत निकायले बेवास्ता गरेपछि सडक अवरद्ध गर्न बाध्य भएको उहाँले बताउनुभयो ।

गत असारमा बस्ती माथिबाट खसेको बाढीले समेत उच्च जोखिम बनाएको मंगलाघाट क्षेत्रमा विगतको प्रतिबद्धता अनुसार काम समेत नभएको महारानी टोल विकास संस्थाका अध्यक्ष खिमबहादुर छन्त्यालले बताउनुभयो ।स्थानीयबासीले एकजुट भएर आन्दोलनका कार्यक्रमहरु सुरु गरेपछि सरोकारावाला निकायले समेत समस्याको समाधानमा सघाउने प्रतिबद्धता जनाएपनि काम सुरु नहुदाँसम्म आन्दोलनका कार्यहरु स्थगित नहुने न्यू मंगला टोल विकास संस्थाका अध्यक्ष क्या. धर्मराज बानियाँले बताउनुभयो । सडक अहिलेसम्म राम्रोसँग स्तरोन्नति नहुँदा जिर्ण र जोखिमपूर्ण बन्दै गएको स्थानीय स्थानीय रमेश फगामीले बताउनुभयो । सडकमा परेका खाल्डाखुल्डी साँघुरो क्षेत्र र गुणस्तरहीन सडक संरचनाका कारण आफुहरुले कच्ची एवं धुलाम्मे सडकमा कष्टपूर्ण र जोखिमपूर्ण यात्रा गर्न बाध्य भएको उहाँले बताउनुभयो

नगरपालिकादेखि मंगलाघाट क्षेत्रसम्मको सडकमा अक्सपाल्टको प्लान्ट समेत स्थापना गरिएकाले बैशाख महिनाभित्र काम गर्ने प्रतिबद्धता जनाएपनि माथिल्लो मंगलाघाट हुदै दरबाङ जोड्ने सडकखण्डको कामका बारेमा सम्बन्धित निकाय समेत अलमलमा परेको छ । दुई बर्षमा सम्पन्न गर्ने लक्ष्य सहित २०७५ माघ २२ गते देब एण्ड सायर–बिएन–त्रिशक्ती जेभीले पाँच करोड रुपैयाँमा ठेक्का लिएको मंगलाघाट–हाडेभिर–बगरफाँट सडक आयोजनाको म्याद २०७७ माघमा सकिएपनि कालोपत्रे थालनी नभएको भन्दै स्थानीय आक्रोशित बनेका छन् । सघन सहरी विकास कार्यालय बागलुले संचालन गरेको सो सडक आयोजना निर्माणमा ढिलाई हुँदा सडकको धुलो र हिलोले स्थानीयवासी प्रभावित भएका छन्।

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार