शिख माविमा छात्रावास भवन निर्माण सुरु ,अध्यक्ष क्याप्टेन गर्बुजा पुनद्धारा शिलन्यास

शिख । म्याग्दीको अन्नपुर्ण गाउँपालिका–५ स्थित शिख माबिमा नमुना आवासीय छात्रावास भवन शिलन्यास गरिएको छ । गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालय नमुना आवासिय विद्यालयको भौतिक पुर्वाधार तर्फ निर्माण हुन लागेको तीन तले ३० कोठे भवनको गाउँपालिकाका अध्यक्ष क्याप्टेन डम बहादुर गर्बुजा पुनले आइतबार एक कार्यक्रमका विच शिलन्यास गर्नुभएको हो ।

अध्यक्ष क्याप्टेन गर्बुजा पुनले आवासिय छात्रावास भवन निर्माण भएपछि दुर्गम क्षेत्रका विद्यार्थीलाइ थप सहज हुने विश्वास व्यक्त गर्नुभयो । गाउँपालिकाले शैक्षिक क्षेत्रको विकासलाई जोड दिएको उहाँको भनाइ थियो । विद्यालयमा अध्ययन गरेका ब्यक्तीहरु राज्यको उच्च तह सम्म पुग्नु गौरबको बिषय भएको बताउनुभयो ।साथै गाउँपालिका अध्यक्ष क्याप्टेन गर्बुजा पुनले विद्यालयलाई शिक्षाको क्षेत्रमा अगाडी ल्याउनका लागि अन्नपुर्ण गाउँपालिकाले सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो ।

छात्रावास भवन बनाउन दुई करोड रुपैयाँ लागत अनुमान गरेर आह्वान गरिएको ठेक्का ३०.०२ प्रतिशत घटेर ढोरपाटन निर्माण सेवा प्रालिले पाएको छ । यही असार मसान्त भित्रमा भवन निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको विद्यालयका प्रअ केदार कार्कीले जानकारी दिनुभयो । बालमैत्री नमुना आवासीय छात्रावास भवन निर्माण हुनेछ । उहाँका अनुसार सोही पहिलो चरणमा गत बर्ष प्रदेश सरकार र गाउँपालिकाको संयुक्त साझेदारीमा एक तलाको दश कोठे भवन निर्माण गरिएको छ ।

आवासिय छात्रावास निर्माण भएमा टाढाबाट आउने विद्यार्थीहरुलाई सहज हुने विद्यालयका प्रअ कार्कीले बताउनुभयो । कक्षा एक देखी १२ कक्षासम्म पठनपाठन हुने विद्यालयमा दुई सय १५ जना बढी विद्यार्थी अध्ययनरत छन् । विकट क्षेत्रका बालबालिकालाई विद्यालयमै खानेबस्ने सुविधासहित अध्ययनको व्यवस्था मिलाउने सामाजिक विकास मन्त्रालयको अवधारणाअनुसार आवासीय विद्यालय सञ्चालन गर्न लागिएको हो । छात्रावासमा घर टाढा भएका विद्यार्थीलाई खानेबस्ने सुविधा हुनेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार