
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले जातीय भेदभाव र छुवाछुतविरुद्ध दृढतापूर्वक लाग्न सबैमा अपील गर्नुभएको छ । जातीय भेदभाव तथा छुवाछुतविरुद्धको दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति भण्डारीले यस्तो अपील गर्नुभएको हो ।
छुवाछुत प्रथा सभ्य समाजका लागि अस्वीकार्य रहेको भन्दै यो कुप्रथाको समूल अन्त्य गर्दै न्यायपूर्ण, सभ्य, सुसंस्कृत र समतामूलक समाज निर्माणका लागि समग्र साँस्कृतिक रुपान्तरणको खाँचो रहेको राष्ट्रपति भण्डारीले औंल्याउनुभएको छ ।
‘जातीय विभेद सामाजिक, नैतिक, मानवीय गरिमाविरुद्धको अपराध हो । त्यसैले जातीय भेदभाव तथा छुवाछुत प्रथाविरुद्ध दृढतापूर्वक क्रियाशील रहन सबैमा आह्वान गर्दछु,’ राष्ट्रपतिको वक्तव्यमा भनिएको छ, ‘सामाजिक जागराणबाट सबैमा समभावको विकास गर्न तथा सबै जातजाती र समुदायबीच आपसी एकता, मेलमिलाप र सहयोगको भावना अभिबृद्धि गरी राष्ट्रिय एकतालाई सुदृढ बनाउनु यो दिवसले सबैलाई अभिप्रेरित गर्नेछ ।
२०६३ जेठ २१ गते सरकारले नेपाललाई जातीय भेदभाव र छुवाछुतमुक्त राष्ट्र घोषणा गरेको थियो । २०६८ सालदेखि यसलाई दिवसका रुपमा मनाउन थालिएको हो । कोरोना महामारीका कारण अधिकांश स्थानमा निषेधाज्ञा लागू हुँदा दिवसका कुनै पनि औपचारिक कार्यक्रमहरु आयोजना गरिएका छैनन् । नागरिक खबरबाट