मोना कतारद्धारा म्याग्दीका ६ वटै स्थानीय तहलाई स्वास्थ्य सामग्री वितरण

बेनी ।कतारमा रहेका प्रवासी म्याग्देलीहरुको साझा संस्था म्याग्दी प्रवासी नेपाली संघ (मोना) कतारले म्याग्दीका ६ वटै स्थानीय तहलाई स्वास्थ्य उपकरण सहयोग गरेको छ । म्याग्दीमा कोभिड–१९को दोस्रो भेरियन्ट तिव्र रुपमा फैलिएसँगै सङ्क्रमितको उपचारमा सघाउन मोना कतारले जुटाएको सहयोगमार्फत ४० लिटर बराबरका ६ वटा अक्सिजन सिलिन्डर र ६ वटा अक्सिजन फ्लोमिटर हस्तान्तरण गरिएको हो ।

मंंगलबार सदरमुकाम बेनीस्थित मोनाको सचिवालयमा मोना कतारका पूर्व अध्यक्ष, संरक्षक एवम् संरक्षक रमेश पौडेलले सहयोग हस्तान्तरण गदैं मोना कतारले आगामी दिनमा समेत जिल्लाबासीको आवश्यकतालाई मध्यनजर गरी सहयोगलाई निरन्तरता दिने बताए। सहयोग हस्तान्तरण कार्यक्रममा स्थानीय तहले मोना कतारले गरेका सामाजिक तथा मानवीय सेवाबाट उत्साहित भएको बताएका थिए। कार्यक्रममा रघुगंगा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारी, बेनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत छविलाल सुबेदी सहित मंगला, मालिका, धवलागिरी र अन्नपूर्ण गाउँपालिकाका प्रतिनिधि, मोना कतारका पूर्व सहकोषाध्यक्ष महेन्द्र बोहोरा लगायतको उपस्थिती रहेको थियो ।

म्याग्दी जिल्लामा कोरोनाका संक्रमतिको संख्या तिब्र गतिमा बढ्न थालेपछि प्रवासमा सबैभन्दा पहिलो सहयोग अभियान मोना कतारले सञ्चालन गरेको थियो । ‘गृह जिल्लामा अक्सिजन लगायतका अति आवश्यक सामाग्रीहरू पठाऔँ, बिरामी तथा आफन्तको उद्धार गरी ज्यान बचाऔ’भन्ने मूल नाराका साथ संस्थाले करिब ४ लाख नेपाली रुपैयाँ सङ्कलन भएको संयोजक राजु पौडेलले जानकारी दिए । उनका अनुसार एक स्थानीय तहलाई करिब ३० हजार बराबरको सहयोग गरिएको छ ।

अभियानमार्फत संकलन गरिएको आर्थिकबाट मोना आईसिले म्याग्दीमा प्रदान गर्न अक्सिजन कन्सन्ट्रेटर १ लाख सहयोग गरिएको अध्यक्ष नरेन्द्र फगामीले बताए । ‘कतारमा रहेका म्याग्देलीले आफ्नो गास काटेर भएपनि जिल्लामा परेको समस्यामा सहयोग गर्ने बाचा गछौं,‘यो कर्मभूमिबाट जन्मभूमीका लागि सहयोग गर्नेलाई धन्यवाद दिन चाहन्छु’ अध्यक्ष फगामीले भने। सहयोग हस्तान्तरण कार्यक्रमको सञ्चालन मोना कतारका सञ्चार संयोजक हरिकृष्ण गौतमले गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार