अन्नपूर्ण गाउँपालिकाका बाढी-पहिरो पीडितलाई घर हस्तान्तरण(तस्बिर सहित)

सुरेन गुरुङ
पोखरेबगर । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाका बाढी-पहिरो पीडितलाई म्याग्दी प्रवासी नेपाली संघ (मोना) अन्तर्राष्ट्रिय कार्यसमितिको नेतृत्वमा नवनिर्मित घर हस्तान्तरण गरिएको छ ।

गत बर्ष अविरल बर्षका कारण आएको बाढी-पहिरोबाट विस्थापित अन्नपूर्ण गाउँपालिका-३ दानाका चार परिवारलाई गाउँपालिका अध्यक्ष क्याप्टेन डमबहादुर गर्बुजा पुन,प्रमुख प्रशासकीय अधिकृत सुरण प्रसाद शर्मा पौडेल ,वडा अध्यक्ष नरसिंह पुर्जा र राजनीतिक दलको उपस्थितिमा मोना अन्तर्राष्ट्रिय कार्यसमितिका अध्यक्ष ओमनारायण जुग्जालीले शनिबार पोखरे बगरमा एक कार्यक्रमका बिच नवनिर्मित घरको डमी चाबी हस्तान्तरण गर्नुभएको हो ।

फगामका मंगली पुर्जा ,दिर्घबहादुर थापा ,लालबहादुर गर्बुजा र रमेश बुढाथोकीको परिवारलाई नवनिर्मित घर हस्तान्तरण गरिएको मोनाले जनाएको छ । पाँच लाख रुपैयाँ लागतमा निर्माण भएका घरमा तीन वटा कोठा र शौचालय बनाइएको छ ।

कार्यक्रममा गाउँपालिका क्याप्टेन गर्बुजा पुन मगरले मोना अन्तर्राष्ट्रिय कार्यसमिति सहित प्रवासमा रहेका सबै म्याग्दीलीहरुलाई धन्यवाद व्यक्त गर्नुभयो ।उहाँले मोनाले निर्माण गरेको घर पीडित परिवारलाई हस्तान्तरण गर्ने काम उदाहरणीय भएको बताउनुभयो । गाउँपालिकाले मोना संग आवश्यक समन्वय र सहकार्य गर्ने अध्यक्ष उहाँको भनाइ छ ।

मोना अन्तर्राष्ट्रिय कार्यसमितिका अध्यक्ष ओम नारायण जुग्जालीले जिल्लामा बाढी-पहिरोबाट विस्थापित परिवारलाई स्थानिय तहको समन्वय तथा सहकार्यमा जिल्लामा दुई करोड लागतमा ४० वटा घर निर्माण गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार प्रती घर ५ लाखा रुपैयाँ लागतमा निर्माण गरिएको हो ।

अध्यक्ष जुग्जालीले नवनिर्मित घरको पूर्णरुपमा भोगचलन गर्न लाभग्राहीलाई आग्रह गर्दै गाउँपालिका मार्फत संरक्षण गर्न अनुरोध गर्नुभयो । अध्यक्ष जुग्जालीले तत्काल राहत सहयोग संगै पीडित परिवारलाई आवास निर्माणका लागि मोनाले अभियान संचालन गरेको बताउनुभयो । उहाँले घर निर्माण अभियानमा सहयोग गर्ने प्रवासमा रहेका म्याग्दीली लगायत सबैलाई धन्यवाद व्यक्त गर्नुभयो ।

मोनाद्वारा निर्माण भएका मंगला चार ,धवलागिरीमा १४ ,मालिकामा १० र बेनी नगरपालिकामा चार परिवारलाई घर हस्तान्तरण गरिएको मोनाले जनाएको छ ।

कार्यक्रममा मोना आईईसीका उपाध्यक्ष सुर्जे भट्टचन ,सचीव रमेश पौडेल ,मोना हङकङका पुर्व अध्यक्ष तथा पुनर्निर्माण समितिका सदस्य दल शेरपुन्जा ,सह-कोषाध्यक्ष महेन्द्र खड्का मोना आईईसी मध्यपुर्व उपसंयोजक सुबोध बरुवाल लगायतको सहभागीता रहेको थियो । गत बर्ष बाढी पहिरोबाट जिल्लामा कुल २ सय ४७ घरमा पूर्ण रुपमा क्षति पु¥याएको थियो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार