पर्वतको फलामखानीमा अर्गानिक चिया उत्पादन सुरू

काठमाडौँ । पर्वत जिल्लाको महाशिला गाउँपालिका–६ फलामखानीमा चिया उत्पादन सुरु भएको छ । जिल्लामा पहिलो पटक सुरु गरिएको व्यावसायीक चिया खेतीबाट तयारी चिया उत्पादन गर्न थालिएको हो ।

संरक्षणको अभावमा झण्डै एक दशकअघि लगाइएको चियाखेती अलपत्र परेको बेला महाशिला गाउँपालिकाले चियाखेती संरक्षण तथा विस्तार गर्न थालेको हो । यस वर्ष साउन महिना लागेपछि मात्रै टिपेकाले झण्डै १० किलोग्राम अर्गानिक चिया उत्पादन गर्न सकिएको फलामखानीका वडा अध्यक्ष रामबहादुर सुनारले जानकारी दिनुभयो ।

इलाममा चियाको क्षेत्रमा कार्यरत नरेन्द्र सुवेदीको पहलमा यस वर्षदेखि प्रशोधन गर्न थालिएको हो । “वैशाखबाटै टिप्न सुरु गरेको भए ५० किलोग्राम भन्दा बढी उत्पादन हुने रहेछ” वडा अध्यक्ष सुनारले भन्नुभयो, “ढिलोगरी टिपेका कारण ५/७ किलोभन्दा उत्पादन गर्न सकेनौं ।”

२०६७ सालमा तत्कालीन जिल्ला विकास समिति पर्वतको सहयोगमा सुरु गरिएको चियाखेती लामो समय संरक्षणको अभावमा गौचरणमा परीणत भएको थियो । उचित संरक्षण र रेखदेखको अभाबमा चियाखेती फस्टाउन सकेको थिएन । दुई वर्ष अघिदेखि गाउँपालिकाको पहलमा गोडमेल तथा संरक्षण गर्न थालेपछि यस वर्षदेखि उत्पादन दिन सुरु गरेको सुनारले बताउनुभयो ।

साविक फलामखानी गाविसको वडा नं. ४, ५, ७, ८ र ९ का दलित समुदायको आयआर्जन वृद्धि गर्ने उद्देश्यले चियाखेती सुरु गरिएको थियो । इलाम जिल्लाको जस्तै व्यावसायिक चिया खेती विस्तार गर्ने उद्देश्यले योजना सुरु गरेपनि स्थानीयले भने कुनै चासो नदेखाएपछि समस्या भएको थियो ।

“दलित समुदायको आयआर्जनमा वृद्धि गर्ने उद्देश्यले चियाखेती सुरु गरिएको हो” महाशिला गाउँपालिकाका अध्यक्ष राजु पौडेलले भन्नुभयो, “स्थानीयबासीको बेवास्ताका कारण सोचे अनुसार फाइदा लिन सकिएको थिएन, अब गाउँपालिकाले यसको संरक्षण र विस्तार गर्छ ।”

१८ सय मिटरको उचाईमा रहेको साविक फलामखानी गाविसलाई चिया खेतीको पकेट क्षेत्र बनाउने गरी तत्कालीन समयमा २० हजार चियाका बिरुवा रोपिएको थियो । नगदेबालीको रुपमा चिया खेतीलाई प्रवद्र्धन गर्नकै लागि पहिलो चरणमा तत्कालीन जिविस पर्वतले झण्डै ६० रोपनी क्षेत्रफलमा चियाखेतीको सुरुवात गरेको थियो ।

साविकको गाविसको ४ र ५ वडामा लगाएका बिरुवा स्थानीयले संरक्षण नगर्दा नष्ट भएपनि वडा नं. ७, ८ र ९ मा भने बिरुवा जिवितै रहेका थिए । यस वर्ष स्थानीयवासीलाई चिया उत्पादन तथा प्रशोधन सम्बन्धी तीन दिने तालिम समेत प्रदान गरिएको छ । अब समुह बनाएर यसको विस्तारमा लाग्ने सुनारले बताउनुभयो ।

महाशिला गाउँपालिकाले विगत तीन वर्षदेखि वर्षेनी यसको विकासका लागि रकम बिनीयोजन गर्दै आएको छ । यस वर्ष पनि ३ लाख रुपैयाँ विनियोजन भएको अध्यक्ष पौडेलले जानकारी दिनुभयो। उहाँका अनुसार गाउँ कार्यपालिकाको बैठकले नै चिया खेतीको लागि आवश्यक यन्त्र उपकरण खरिद गर्ने, उत्पादित चिया ल्यावमा परीक्षणका लागि पठाउने निर्णय समेत गरेको छ ।

पहिलोपटक उत्पादन गरिएको अर्गानिक चिया निकै गुणस्तरको पाएको र अब परीक्षण र थप क्षेत्रमा व्यावसायिक विकासको लागि गाउँपालिकाले योजना निर्माण गरी कार्य अगाडि बढाउने गाउँपालिकका प्रवक्ता जीवन उच्चै ठकुरीले बताउनुभयो । फलामखानीमा चियाको व्यावसायिक विकास गर्दै लैजाने गाउँपालिकाको नीति तथा कार्यक्रम समेत रहेको उहाँको भनाइ छ । karobardaily बाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार