कांग्रेस महाधिवेशन : म्याग्दीमा चुनावी सरगर्मी बढ्यो,वडा अधिवेशनको तयारी अन्तिम चरणमा

बेनी । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत म्याग्दीमा तोकिएकै मितिमा वडा अधिवेशन हुने भएको छ । यहि भदौ १८ गते वडा कार्यसमितिको अधिवेशनको मिति तय भएसँगै म्याग्दीमा नेता कार्यकर्ताको चहलपहल बढेको छ । वडा अधिवेशनका लागि नेता,कार्यकर्ता भेला र छलफमा जुतेपछि रौनक तातेको छ ।

कांग्रेस म्याग्दीले वडा अधिवेशनलाई सहज रुपमा सफल बनाउन बेनीमा जिल्ला कार्यसमिति ,प्रदेश सभा क्षेत्र नम्बर ‘क’र‘ख’ का कार्यसमिति,पालिका,निर्वाचन अधिकृत र नेपाल शिक्षक संघका पदाधिकारी विच संयुक्त रुपमा छलफल समेत गरेको छ । वडा अधिवेशनका लागि आवश्यक तयारी पुरा भएको कांग्रेस म्याग्दीले जनाएको छ । केन्द्रिय कार्यसमितिले म्याग्दीमा बागलुङका निरञ्जन राज भण्डारीलाई निर्वाचन अधिकृत नियुक्त गरेको छ । वडा अधिवेशनका लागि सबै वडामा मतदान अधिकृत खटाइएको छ ।

मतदान अधिकृतहरुलाई निर्वाचन अधिकृत भण्डारीले प्रशिक्षण समेत दिनुभएको छ । मतदान अधिकृत मार्फत सबै वडामा क्रियाशिल सदस्यता संगै आवश्यक सामाग्री पठाइएको छ । विहिबार सम्म सबै वडामा मतदान अधिकृत पुगिसक्नेछन् । एक प्रतिनिधिसभा,दुई प्रदेशसभा र वटा स्थानीय तह भएको म्याग्दीमा ४५ वटा वडा छन् । सबै वडामा वडा कार्यसमितिले अधिवेशन तयारीका लागि धमाधम बैठक गरिरहेका छन् ।

अधिवेशनको लागि आवश्यक तयारी तयारी अन्तिम चरणमा पुगेकाे भएको मालिका गाउँपालिका–४ का सभापति तमहादुर पुनले जानकारी दिनुभयो । उहाँले वडामा पार्टीलाई बलियो बनाउन सहमतिमा नेतृत्व चयन हुने बताउनुभयो । देशलाई संवृद्ध बनाउन सक्ने एजेण्डा भएका नेता नेतृत्वमा आउनुपर्ने उहाँको भनाई छ । नेपाल शिक्षक संघले वडा अधिवेशनको निर्वाचन गराउन सदस्यहरुलाई कार्यविभाजन गरेर खटाइएको अध्यक्ष नगेन्द्र बहादुर खत्रीले बताउनुभयो ।

सहमति हुने ठाउँमा सहमति र नभएको खण्डमा निर्वाचन मार्फत नेतृत्व चयन हुने कांग्रेस म्याग्दीले जनाएको छ । विगतमा एकाध बाहेक म्याग्दीका अधिकांश वडामा काँग्रेसको नेतृत्व सर्वसम्मत रुपमा लाग्ने गरेको थियो । ‘पार्टीलाई बलियो बनाउन सकेसम्म सबै वडामा सहमति मार्फत नेतृत्व चयन गर्न आग्रह गरेका छौैं’,कांग्रेस म्याग्दीका सभापति खमबहादुर गर्बुजा ‘खम्बिर’ले भन्नुयो,‘निर्वाचन भएपनि लोकतान्त्रिक पद्धतिमा त्यसलाई स्वभाविक रुपमा लिन सबै नेता तथा कार्यकर्तालाई आग्रह गर्दछु ।’

सचिव क्याप्टेन मिन बहादुर कार्कीका अनुसार म्याग्दीमा क्रियाशिल सदस्यता संख्या दुई हजार ८ सय ३९ पुगेका छन् । प्रदेश सभा ‘क’मा नविकरण ८१० र नयाँ १०१४ ,प्रदेश सभा ‘ख’मा नविकरण २७४ र ७४१ जना नयाँ थपिएका छन् ।काँग्रेसको अबको नेतृत्व कस्तो बनाउने भन्ने बारेमा गाउँदेखि जिल्ला सदरमुकाममा चर्चा परिचर्चा शुरु भएको छ ।

वर्तमान कार्यसमितिका सभापति गर्बुजा, पूर्वसभापति तथा संविधानसभा सदस्य रेशम बहादुर बाँनिया,उपसभापति माधवप्रसाद रेग्मी,सचिव मिन बहादुर कार्की ,पूर्व सह–सभापति नेत्र बहादुर महत,महाधिवेशन प्रतिनिधी चिरञ्जिवी शर्मा सभापतिमा आकाँक्षी देखिनुभएको छ । गाउँ तहका कार्यकर्ताहरुले नयाँ परिवेश अनुसार देशको मुहार फेर्न विचार र एजेण्डा बोकेका नेताका लागि अघि सर्नुपर्ने अपेक्षा गरेका छन् । वडा अधिवेशन पछि गाउँ÷नगरपालिकाको अधिवेशन २७ भदौ ,प्रदेश सभा क्षेत्रीय अधिवेशन १ असोज ,एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्लामा ५ असोजमा , एक भन्दा बढी प्रतिनिधिसभा निर्वाचन भएको जिल्ला अधिवेशन १० असोजमा हुने भएको छ । यस्तै प्रदेश अधिवेशन कात्तिक १०,११ र १२ गते हुने भएको छ भने केन्द्रीय महाधिवेशन मंसिर ९,१०,११ ,१२ र १३ गते हुने समय तालिका छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार