मुलुकमा जनमुखी र वैज्ञानिक शिक्षाको खाँचो छ : उपराष्ट्रपति पुन

काठमाडौँ । उपराष्ट्रपति नन्दबहादुर पुनले मुलुकमा जनमुखी र वैज्ञानिक शिक्षाको खाँचो रहेको बताउनुभएको छ । चन्द्रागिरि नगरपालिका–२ वाडभन्ज्याङस्थित चण्डिकादेवी माध्यमिक विद्यालयमा सोमबारदेखि सुरु भएको श्रीमद्भागवत सप्ताह महायज्ञको उद्घाटन गर्दै उहाँले मुलुकमा जनमुखी र वैज्ञानिक शिक्षा आवश्यक रहेकाले शैक्षिक प्रणालीमा सुधार गर्नुपर्ने बताउनुभयो।

‘शिक्षामा आएका दरार हटाउँदै, समान शिक्षाका लागि आन्दोलन जरुरी छ, शिक्षा क्षेत्रमा विभेद हुनु हुँदैन, पछिल्लो समय सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरसमेत बढेर गएको छ, विद्यालय व्यवस्थापन समिति र विद्यालय मिलेर अगाडि बढे शैक्षिक क्षेत्रको रुपान्तरण सम्भव छ’, उहाँले भन्नुभयो । सामुदायिक विद्यालयलाई प्राथमिकता दिएर अगाडि बढ्नुपर्ने उहाँको भनाइ थियो।

विश्व हिन्दू महासङ्घका केन्द्रीय अध्यक्ष एवं पूर्वमन्त्री रामचन्द्र अधिकारीले सामुदायिक विद्यालयको भौतिक सुधारसँगै प्राविधिक शिक्षाको सञ्चालनका लागि सुरुआत भएको महायज्ञलाई सफल बनाउन स्थानीय सरकारको मुख्य दायित्व रहेको बताउनुभयो। पूर्वसांसद रुपा महर्जन, चन्द्रागिरि नगरपालिका–२ का वडाध्यक्ष गोपी सुर्खेतीले सामुदायिक विद्यालयको शैक्षिक तथा भौतिक सुधारका लागि सबैको साथ र सहयोग रहेको उल्लेख गर्दै विद्यालयलाई प्रविधिमैत्री र गुणस्तरीय शैक्षिक वातावरण तयार गर्दै दक्ष जनशक्ति उत्पादनमा जोड दिनुपर्ने बताउनुभयो।

महायज्ञ मूल समारोह समितिका संयोजक एवं विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्रवण सुवेदीले धार्मिक महायज्ञलाई सामुदायिक विद्यालयको शैक्षिक तथा भौतिक सुधारका रूपमा आयोजना गर्न लागेको बताउनुभयो। सोमबारदेखि सुरु भएको महायज्ञ मङ्सिर २१ गतेसम्म सञ्चालन हुनेछ। उक्त महायज्ञमा पण्डित वासुदेव घिमिरेले कथा वाचन गर्नेछन्। रासस

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार