अब ट्राफिक प्रहरीले जहाँ समात्यो, त्यहीँ जरिवाना तिर्न सकिने

काठमाडौं। महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौं उपत्यकामा ट्राफिक जरिवाना कारबाहीस्थलबाटै तिर्न सकिने सिष्टमको सुरुवात गरेको छ ।बिहीबारबाट ‘पे फाइन अन द स्पोर्ट–इनस्ट्यान्ट पेमेण्ट सिस्टम’ लागू हुने गरी महाशाखाले ट्राफिक नियम उल्लंघन गरी कारबाहीमा परेका सवारीसाधन धनीलाई कारबाही स्थलबाट नै रकम तत्काल भुक्तान गरी कागजात फिर्ता लिनसक्ने व्यवस्थाको शुरुवात गरेको हो ।

तत्काल ट्राफिक जरिवाना भुक्तान गर्ने प्रणाली शुभारम्भ कार्यक्रममा महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी बरिष्ठ उपरिक्षक जनक भट्टराईले ट्राफिक सेवा आधुनिक र प्रविधियुक्त हुँदै गएको बताउनुभयो । उहाँले अबदेखि चिट काटेपछि जरिवाना तिरेर ट्राफिक कार्यालयमा गइ कागजात फिर्ता लिनुपर्ने समस्या समाधान भएको बताउनुभयो । उहाँले अहिलेसम्म कारबाहीका लागि बनाइएको एप ५ वटा मोबाइलमा मात्रै प्रयोग गरिएको र बिस्तारै यसको संख्या बढाउँदै जाने बताउनुभयो । प्रमुख भट्टराईले कारबाहीमा परेकाहरुको अब डिजिटल इन्ट्री गरिने र तत्काल रकम भुक्तानी गरी कागजात फिर्ता लिन मिल्ने बताउनुभयो ।

‘अहिलेको सिस्टम हामी चिट काट्थ्यौँ, त्यसपछि बेलुका त्यो कागजपत्र अफिसमा आउँछ, त्यो बीचमा उहाँले अनलाइनबाट पनि तिर्न सक्नुहुन्छ, बैंकमा गएर पनि तिर्न सक्नुहुन्छ । बेलुका हाम्रोमा ल्याएर इन्ट्री गरेपछि कागजपत्र फिर्ता पाउनुहुन्थ्यो । यसलाई सहज र सरलीकृत गर्न, कोरोनाको यस्तो बेलामा सहज बनाउनु पर्छ भनेर फिल्डबाट नै मुक्ति दिन यो व्यवस्थाको शुरुवात गरेका हौँ।’ उहाँले भन्नुभयो, ‘डिजिटल इन्ट्री फिल्डमा नै हुन्छ । पहिलेको जस्तो कागजपत्र अफिसमा ल्याएर इन्ट्री गरेपछि मात्रै कागजपत्र पाउने सिस्टम हटेर यो सिस्टम लागू हुन्छ ।

कसैले तत्काल लिन चाह्यो भने रकम भुक्तानी गरेर तत्काल लिन सकिन्छ । उहाँले अनलाइन वा क्यूआरकोर्डबाट तिर्न सक्नुहुन्छ ।’ पहिलो चरणमा गौशाला, दरवारमार्ग, थापाथली, जावलाखेल र जनसेवा गरी ५ ठाउँमा यो सेवा सुचारु गरेको महाशाखाले जनाएको छ । त्यस्तै मादकपदार्थ सेवन गरी सवारीसाधन चलाउने, लेन अनुशासन पालना नगरेको र रातो बत्ती उल्लंघन गरेका सवारीसाधन चालकहरुका लागि भने रकम भुक्तानी तत्काल गर्न पाएपनि महाशाखामा गएर सचेतना कक्षा नलिएसम्म कागजात पाउने छैनन् । अनलाइनखबरबाट

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार