पाटन दरबार क्षेत्रमा भेटियो लिच्छविकालीन शिलालेख

काठमाडौं । ललितपुरको पाटन दरबार क्षेत्रमा लिच्छविकालीन अभिलेख भेटिएको छ । परिसरभित्र ढल खन्ने क्रममा भीमसेन मन्दिर अगाडि सुवर्ण झ्यालमुनि ६ फिट अग्लो लिच्छविकालीन अभिलेख भेटिएको लिपिविज्ञ श्यामसुन्दर राजवंशीले जानकारी दिनुभयो।

उहाँका अनुसार अभिलेख पुरातत्वविद् प्रकाश दर्नालको टोलीले भेट्टाएको हो । जुन अभिलेख गोकर्ण बालुवा गाउँमा अभिलेख राखिएकै वर्षमा राखिएको हो । राजवंशीका अनुसार गत २०७८ भदौ २९ गते ढल खन्ने क्रममै पूर्वमध्यकालको शिलालेख भेटिएको थियो । गत पुस ५ गते जमिनको गर्भभित्र उक्त अभिलेख भेटिएको उहाँले बताउनुभयो। सिमेन्ट लागेर सहजै पढ्न नसकिएको अभिलेख लिच्छवि लिपि र प्रौढ संस्कृत भाषामा उल्लेख छ ।

कुल १५ पंक्ति रहेको अभिलेखको दायाँबायाँ श्रावक मृग र बीचमा धर्मचक्र कुँदिएको छ । अभिलेख ८५ सेन्टिमिटर लम्बाइ र ५२ सेन्टिमिटर चौडाइको छ । अभिलेखमा महासामन्त अंशुवर्माको नाम उल्लेख रहेको राजवंशी बताउँनुहुन्छ । यसमा योग्रङ्ग्राम र अन्तिम पंक्तिमा संवत् ५३६ ज्येष्ठ मासे शुक्ल पक्षे भन्ने वाक्यांक प्रष्टसँग लेखिएको छ । यो अभिलेखले राजा वृषदेवले त्यहाँ विहार बनाएको भन्ने स्पष्ट लेखेको छ । अनलाइनखबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार