गठबन्धनले आगामी दिनसम्म निरन्तरता पाउनेछ : अध्यक्ष नेपाल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले राष्ट्रियसभाको निर्वाचनबाट सुरु भएको गठबन्धनको सहकार्यले अरू निर्वाचनहरुमा समेत निरन्तरता पाउने बताउनुभएको छ ।

नेकपा एमाले शंकरापुर–२ मा मंगलबार आयोजित कार्यक्रममा उहाँले गठबन्धनका दलहरुबीच आगामी सबै निर्वाचनमा मिलेर जाने गरी कुराकानी भइरहेको बताउनुभएको हो । अध्यक्ष नेपालले नेपाली कांग्रेस र नेकपा माओवादी (केन्द्र) पनि मिलेर जान सहमत रहेको उल्लेख गर्दै आफ्नो पार्टीमा प्रवेशको लहर चलेको र कतिपय दलहरु समाहित हुन आइरहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘ठूलो सङ्ख्यामा सङ्गठित सदस्य रहेका दलहरु पनि समाहित भइरहेका छन् ।’अध्यक्ष नेपालले आफू निर्वाचित हुँदा र नहुँदा दुवै अवस्थामा आफूले काठमाडौं क्षेत्र नं २ को विकासमा चासो र अग्रसरता लिँदै आएको बताउँदै काठमाडौँ जिल्ला भए पनि कर्णालीका रुपमा रहेको शंखरापुर–२ मा सडकलगायत पूर्वाधार निर्माणमा आफूले अग्रसरता लिँदै आएको दाबी गर्नुभयो ।

‘आफ्नो क्षेत्रमा कोटेश्वरदेखि लिएर भक्तपुर सिन्धुपाल्चोकको सीमासम्म र विकसितदेखि अविकसित ठाउँसम्म रहेको छ,’ उहाँले भन्नुभयो, ‘त्यस क्षेत्रमा सडक, पार्क, विद्यालय भवनलगायत पूर्वाधार निर्माणमा आफ्नो सहयोग निरन्तर रहनेछ ।’ सो कार्यक्रममा उहाँले नेकपा एमाले शंकरापुर–२ का वडा सचिव सोमबहादुर (सुमन) लामा लगायतलाई पार्टी प्रवेश गराउनुभएको थियो । रासस

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार