म्याग्दी सहकारीको १४औं वार्षिक साधारणसभा सम्पन्न (तस्बिरहरु)

काठमाडौं ।काठमाडौंको गोंगबुचोक स्थित म्याग्दी बचत तथा ऋण सहकारी संस्था लि.को १४औं वार्षिक साधारणसभा आज सम्पन्न भएको छ । साधारणसभाको सहकारीकी वरिष्ठ सल्लाहकार डा.ज्योती शेरचन र जेष्ठ शेयर सदस्य ७४ बर्षिय इन्द्रबहादुर अधिकारीले संयुक्त रुपमा दिप प्रज्वलन गरेर उद्घाटन गर्नुभएको थियो ।

कार्यक्रममा सहकारी अभियन्ता तथा कानुनी परामर्शदाता डिल्लीराम तिवारीले सहकारीको विगत वर्तमान र भावी चुनौतीका बारेमा चर्चा गर्नुहुँदै सहकारीको हितको लागि बचत तथा ऋणमा महत्वपूर्ण योगदान गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले सहकारीले आम म्याग्दीलीहरुलाई संगठित गराउँदै व्यवसायीक बनाउन आर्थिक योगदान र वित्तिय ज्ञान दिएको स्मरण गराउनुभयो ।

त्यसैगरी संस्थाका बरिष्ठ सल्लाहकार डा. शेरचनले फरक परिचय सहित स्थापित म्याग्दी सहकारी धेरै सम्भावना बोकेको वित्तिय संस्थाको रुपमा परिचित हुन आवश्यक रहेको बताउनुभयो । ‘हामीसंग धेरै सम्भावनाहरु छन, तिनको उपयोग गर्न सकियो भने म्याग्दीलाई समृद्धिको शिखरमा पु¥याउन सकिन्छ,’उहाँले भन्नुभयो , त्यसैले म्याग्दी सहकारीमा आवद्ध भई सबैले हातेमालो गर्न म आव्हान गर्दछु ।’

सहकारीकी अध्यक्ष थदेवी पुनले संस्था स्थापनाको १५ वर्ष पुगेको अवसरमा सबै शेयर सदस्यप्रति शुभकामना व्यक्त गर्नुभयो । उहाँले सहकारीले महिलाहरुको नेतृत्व विकास र शसक्तिकरणका लागि प्राथमिकतामा राखी काम गर्नुका साथै तीन कार्यकाल सम्म पनि महिलालाई नै नेतृत्वमा स्थापित गरेकोमा सबैप्रति आभार प्रकट गर्नु भएको थियो ।

प्रवन्धक बिष्णुप्रसाद पौडेलले प्रस्तुत गर्नुभएको बार्षिक प्रतिवेदन अनुसार १६७७ शेयर सदस्य संख्या रहेको सहकारीको ७ करोड ५३ लाख रुपैयाँ शेयर पुँजी रहेको छ ।बचततर्फ ४३ करोड ९५ लाख, कर्जा लगानीतर्फ ३७ करोड ६ लाख र बाँडफाँड योग्य मुनाफा १ करोड ३८ लाख रहेको छ । सोही अवसरमा उत्कृष्ट बचत गर्ने सदस्यहरु मीमकुमारी छन्त्याल,सुकुन शेरचन, डम्मरबहादुर छन्त्याल र बेलबहादुर तिलिजा तथा असल कर्जा कारोवार गर्नु हुने फुलसाङ्गो शेरचन र संगिता घर्तिमगरलाई कदर पत्र प्रदान गरिएको थियो ।

प्रारम्भिक साधारणसभा देखि १४औं वार्षिक साधारणसभासम्म निरन्तर उपस्थित भई उल्लेखनिय योगदान दिनुभएका सहकारी अभियन्ता तथा काुननी परामर्शदाता तिवारीलाई सम्मान गरिएको थियो । अध्यक्ष पुनको अध्यक्षता,कोषाध्यक्ष छकप्रसाद शेरचनको स्वागत र सचिव दिपबहादुर छन्त्यालले कार्यक्रम संचालन गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार