झण्डै आधा अर्ब खर्चिएर बुटवल उपमहानगरको प्रशासनिक भवन

बुटवल । झण्डै आधा अर्ब रुपैयाँ खर्चिएर बुटवल उपमहानगरपालिकाले प्रशासनिक भवन निर्माण गरेको छ। २०७५ साल असार ८ गते पूर्वअर्थमन्त्री एवं प्रतिनिधि सभा सदस्य विष्णु पौडेलले शिलान्यास गरेको उक्त भवनको बुधबार पौडेलले नै भर्चुअल माध्यमबाट उद्घाटन गर्नुभएको हो।

भर्चुअल माध्यमबाट भवनको उद्घाटन गर्दै पूर्वअर्थमन्त्री पौडेलले सेवाग्राहीका कामलाई पहिलो प्राथमिकता राखेर अगाडि बढ्न सुझाव दिनुभयो । उहाँले नागरिकले नयाँ भवनबाट प्राप्त गर्ने सेवालाई पनि स्तरीय बनाउन आग्रह गर्नुभयो । भवन निर्माण गर्दा ५४ करोड ७८ लाख ४५ हजार ३ सय ८१ रुपैयाँ अनुमानित लागत राखिएकोमा विकोही, शिवशक्ति, बन्दन भगवती जेभी न्यू बानेश्वरले ४३ करोड ५३ लाख ४९ हजार ५ सय ७२ रुपैयाँ ८४ पैसामा भवन निर्माणको ठेक्का सम्झौता गरेको थियो।

भवनको गत असार ६ गतेभित्रै निर्माण सम्पन्न गरिसक्नुपर्ने सम्झौताको म्याद राखिएको भए पनि कोभिड महामारीका कारण सात महिना ढिलोगरी भवन निर्माण सकिएको उपमहानगरपालिकाका योजना प्रमुख इन्जिनियर सुमन श्रेष्ठले जानकारी दिनुभयो।हाल रहेको प्रशासनिक भवनको दक्षिणतर्फ यसअघि तिलोत्तमा पार्क रहेको स्थानमा भवन निर्माण गरिएको हो।२०३५ सालमा निर्माण गरिएको हाल उपमहानगरपालिका कार्यालय रहेको भवन २०७२ सालको भूकम्पले चर्किएपछि मर्मत गरेर कार्यालय सञ्चालन भइरहेको थियो।

भूकम्पले क्षतिग्रस्त भएको भवनमा कार्यालय सञ्चालन गर्न जोखिम भएको भन्दै उपमहानगरपालिकामा जनप्रतिनिधि निर्वाचित भएर आएपछि अत्याधुनिक भवन निर्माणको प्रक्रिया अगाडि बढाइएको थियो।बुधबार उद्घाटन गरिएको भवन करिब तीन बिघा क्षेत्रफलमा निर्माण गरिएको र यही क्षेत्रमा आवश्यकताको आधारमा थप ६ वटा अन्य ब्लक समेत निर्माण गरिँदै जाने उपमहानगरपालिकाले जनाएको छ।

उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले हाल रहेको पुरानो भवनको जग्गालाई समेत लिएर प्रमुख प्रशासनिक भवनसहित अन्य संरचना निर्माण गर्ने गरी गुरूयोजना बनाइएको जानकारी दिए।गुरूयोजना अनुसार पहिलो चरणमा निर्माण गरिएको ‘ए ब्लक’ अर्थात् प्रमुख प्रशासनिक भवन बेसमेनसहित चार तलाको अत्याधुनिक रहेको छ।

दुई अलग–अलग स्थानमा लिफ्ट र दुबैतर्फ सिँढी बनाइएको अण्डरग्राउण्ड सहितको नवनिर्मित भवनमा अण्डर ग्राउण्डमा १ सय ६ वटा मोटरसाइकल, ३५ देखि ५० वटासम्म कार पार्किङ गर्न मिल्ने गरी निर्माण गरिएको छ।भवनको बाहिर पनि छुट्टै सवारी साधन पार्किङ गर्न मिल्ने क्षेत्र छुट्टाइएको छ।उपमहानगरपालिकाका इन्जिनियर गौतम रौनियारका अनुसार भुइँ तल्लामा प्रतिक्षा कक्ष, बैंकको लागि काउण्टर, हेल्प डेस्क, नक्सा, योजना, राजश्व र भूमि व्यवस्थासम्बन्धी शाखा राखिएका छन्।

पहिलो तल्लामा नगरप्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, लेखा र प्रशासन शाखा राखिएको छ।त्यस्तै, दोस्रो तल्लामा वातावरण, सामाजिक कल्याण, सूचना प्रविधि लगायतका शाखा राखिएको छ भने तेस्रो तल्लामा शिक्षा, युवा तथा खेलकुद शाखा र २ देखि ३ सय जना क्षमताको सभाहल राखिएको छ।इन्जिनियर रौनियारले चार वटै तल्लामा २०र२५ जना क्षमताका बैठक कक्षहरू निर्माण गरिएको जानकारी दिनुभयो।

नवनिर्मित भवन निर्माणको काम सम्पन्न भई बुधबार उद्घाटन गरिए पनि अहिले फर्निचर व्यवस्थापन र इन्टेरियरको काम भइरहेकोले फागुन ३ गते उपमहानगरपालिकाको स्थापना दिवससम्म सम्पूर्ण शाखाहरूको काम नयाँ भवनबाटै सञ्चालन गरिने उहाँले बताउनुभयो। २०१६ सालमा स्थापना भएको बुटवल नगरपालिकाले हरेक वर्ष विभिन्न रचनात्मक कार्यक्रमका साथ स्थापना दिवस मनाउँदै आएको छ। सेतोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार