नेविसंघद्वारा त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायमा तालाबन्दी

काठमाडौँ । विद्यार्थीलाई छात्रवृति प्रदान गर्ने सहमति कार्यान्वयन नगरेको भन्दै नेपाल विद्यार्थी संघले कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायमा तालाबन्दी गरेका छन् ।

व्यवस्थापन संकायका कुल विद्यार्थी संख्याको १० प्रतिशत विद्यार्थीलाई शतप्रतिशत छात्रवृति प्रदान गर्न यसअघि भएको सहमति कार्यान्वयन नभएको भन्दै नेविसंघले तालावन्दी गरेका हुन् । उनीहरुले आर्थिक अभावका कारण विद्यार्थीहरुमा गरिएको विभेद अन्त्य गर्न र महँगो कोर्स पढ्न नसक्ने विद्यार्थीका लागि छात्रवृति प्रदान गर्ने विषयमा संघ र त्रिविबीच २०७६ साल साउन २४ गते भएको सहमति कार्यान्वयन गर्नुपर्ने बताएका छन् ।

उनीहरुले त्रिवि व्यवस्थापन संकायबाट सम्बन्धन प्राप्त सबै क्याम्पसको शुल्कमा एकरुपता ल्याउन माग गरेका छन् । त्यस्तै, केही क्याम्पसले छात्रवृतिका नाममा २ देखि ५ लाखसम्म उठाउने गरेको भन्दै त्यस्ता क्याम्पसहरुको सम्बन्धन खारेज गरि आवश्यक कारबाही गर्न माग गरिएको नेविसंघ नेता दीपक ओझाले जानकारी दिनुभयो ।

सो क्रममा त्रिवि व्यवस्थापन संकायका डिन डिल्लीराज शर्माले विद्यार्थीहरुको मागका बारेमा आफू सकारात्मक भएको भन्दै सर्वपक्षीय छलफलबाट समस्या समाधान गर्ने बताउनुभयो । विद्यार्थीहरुले व्यवस्थापन संकायको भर्नासम्बन्धी कार्यविधि पालना नगरी सिम्याटको रिजल्ट अगावै भर्ना लिने क्याम्पसहरुलाई पनि कारबाही गर्न माग गरेका छन् । आफूहरुको मागका विषयमा २४ घन्टाभित्र कुनै सम्बोधन नभए कडा आन्दोलन गर्ने चेतावनी उनीहरुले दिएका छन् । नागरिक खबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार