अन्नपुर्ण गाउँपालिकाको गाउँसभा : दुई करोड ६५ लाख रुपैयाँ बढी बजेट विनियोजन (फोटो फिचर )

पोखरेबगर । म्याग्दीको अन्नपुर्ण गाउँपालिकाको गाउँसभा (१४ औं अधिवेशन) सम्पन्न भएको छ ।सोमबार गाउँपालिकाको केन्द्र पोखरेबगरमा सम्पन्न गाउँसभाले चालु आर्थिक बर्षका लागि दुई करोड ६५ लाख १२ हजार रुपैयाँ बजेट विनियोजन गरेको छ । गत आर्थिक बर्ष २०७७÷७८मा खर्च हुन बाँकी बजेटलाई वडा स्तरका ३३ र पालिका स्तरका ३० वटा योजना तथा कार्यक्रमका लागि थप बजेट बाँडफाँड गरिएको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरणप्रसाद शर्मा पौडेलका अनुसार गाउँपालिकाका आठ वटै वडालाई १२÷१२ लाख रुपैयाँका दरले बजेट थप वितरण गरिएको छ । उहाँले बाँकी एक करोड ६९ लाख १५ हजार रुपैयाँ बजेट अधुरा योजनालाई पुर्णता दिन ,साझेदारीका ,वडाबाट सिफारिस भएका योजनाहरुलाई वितरण गरिएको बताउनुभयो ।

गाउँपालिकाका अध्यक्ष क्याप्टेन डमबहादुर गर्बुजा पुनको अध्यक्षतामा भएको गाउँसभामा उपाध्यक्ष केशमाया मगरले प्रस्तुत गर्नुभएको यसअघिको गाउँसभाबाट पारित भएका केही योजनाको नाम र बजेट संशोधन गर्ने प्रस्ताव छलफल पछि पारित भएको छ ।यस अघिको १३० वटा योजना तथा कार्यक्रम छनौट भएकामा ३३ वटा सम्झौता छन् भने एक वटा योजना सम्पन्न भएको छ । हालसम्म गाउँपालिकाको चालुतर्फ ३२ करोड तीस लाख साठी हजार रुपैयाँ बजेट भएकोमा ३१.२५ प्रतिशत खर्च भएको छ । भने पुँजिगत तर्फ १० करोड नौ लाख चौसठ्ठी हजार १२३ रुपैयाँ बजेट विनियोजन भएकोमा ५.५८ प्रतिशत खर्च भएको छ । यस्तै विपद कोष तर्फ १ करोड रुपैयाँ मध्ये २४.०६ प्रतिशत खर्च भएको उपाध्यक्ष मगरले जानकारी दिनुभयो । ९० लाख चालिस हजार रुपैयाँ राजश्व लक्ष्य लिएकोमा हाल सम्म १५ लाख रुपैयाँ संकलन भएको छ ।


नयाँ थपिएका योजनाहरुमा नारच्याङको प्रभा माविको छात्रावास भवन निर्माणको लागि बीस लाख रुपैयाँ ,दोवाको होजियारी भवन निर्माणको लागि दश लाख रुपैयाँ ,घार दलित बस्ती भवन निर्माणको लागि दश लाख रुपैयाँ ,राम्चे –घोडेपानि सडक निर्माणको लागि दश लाख रुपैयाँ ,बाख्रापालन कार्यक्रमका लागि सात लाख रुपैयाँ , र झोलुङ्गे पुल निर्माणको लागि साझेदारी गर्न बीस लाख १२ हजार रुपैयाँ बजेट विनियोजन गरिएको छ ।बर्खा ,राजनितिक दलहरुको अधिवेशन ,कोरोना कहरका काण प्रभावित भएका योजाहरुलाई तिब्रता दिन गाउँपालिका अध्यक्ष क्याप्टेन गर्बुजा पुनले निदेशन दिनुभयो । उपभोक्ताको सहजता र सुविधाको लागि तीन लाख रुपैयाँ भन्दा कम बजेटका योजना तथा कार्यक्रमको सम्झौता वडाबाटै गर्ने व्यवस्था मिलाएको बताउनुभयो ।

गाउँसभा सरु हुनु अघि जनप्रतिनिधि ,कर्मचारी र समाचार संकलनका लागि गएका पत्रकारहरुको एन्टिजेन विधिबाट कोरोना परिक्षण गरिएकोमा ११ जनामा संक्रमण पुष्टि भएको छ । गाउँपालिकाका स्वास्थ्य संयोजक समुन्द्र बरुवालका अनुसार ९ जना गाउँसभा सदस्यहरु र दुई जना कर्मचारी गरी ११ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमित सबै जनप्रतिनिधि र कर्मचारीहरुलाई आइसोलेशनमा पठाइएको उहाँले बताउनुभयो । संक्रमितहरु गाउँसभामा सहभागी हुनु भएन । गाउँसभा सदस्यहरु विरबहादुर पौडेल ,बुद्धी पुन,रबिन्द्र गर्बुजा पुन ,रामबहादुर खड्का ,टिका घटाने ,हस्तबहादुर पुन ,वडा नम्बर १ का वडा अध्यक्ष दिलपकुमार पुन र वडा नम्बर ७ का वडा अध्यक्ष गमबहादुर फगामीले बोल्नुभएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार