म्याग्दी उद्योग वाणिज्य संघ मालिका इकाईको आठौं बार्षिक साधारणसभा (फोटो फिचर)

बेनी । म्याग्दी उद्योग वाणिज्य संघ मालिका इकाईको आठौैं  वार्षिक साधारणसभा सम्पन्न भएको छ । शनिबार जिल्लाको मालिका गाउँपालिका वडा नम्बर ६ स्थित दरबाङमा एक कार्यक्रमका विच इकाईको वार्षिक साधारणसभा सम्पन्न भएको हो । दरबाङ ईङ्गलिस बोर्डिङ स्कुलको प्राङगनमा आयोजित साधारणसभाको उद्घाटन गाउँपालिका अध्यक्ष श्रीप्रसाद रोका मगरले गर्नुभयाे । उहाँले उद्योगी व्यवसायीलाई गाउँपालिकाले संरक्षण र सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले गाउँपालिकाले सुरुवातदेखि नै उद्योगी व्यवसायीको हितमा केन्द्रित भएर गाउँपालिकाले काम गर्दै आइरहेको बताउनुभयो ।

व्यवसायीहरुले आफ्नो अधिकारको लागि मात्र नभई राज्यको कानुनी प्रक्रिया पालना गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले गाउँपालिकाले कृषि उत्पादन र पशुपालनलाई जोड दिएर अनुदान पनि प्रदान गरेको बताउनुभयो । सिमित बजेटका बाबजुत वडाहरुले सिपमुलक तालिमहरु संचालन गरेको उल्लेख गर्नुभयो । दर्ता नभएका व्यवसायीहरु दर्ता गरेर राज्यको दायरामा आउन आग्रह गर्नुभयो ।

‘सरकारले व्यवसायीको उत्पादनलाई प्रवद्र्धन गर्छ ,व्यवसायीलाई संरक्षण र आवश्यक परेको अवस्था वा विपद्को समयमा सहयोग पनि गर्छ । तर,व्यवसायीहरुले पनि राज्यको कानुनी प्रक्रियालाई पालना गर्नुपर्दछ ,मर्यादित र अनुशासित बन्नुपर्छ ,’उहाँले भन्नुभयो । कोभिडको कारण देशमा आर्थिक ,भौतिक र मानविय क्षती भएको उल्लेख गर्दै उद्योगी व्यवसायी र सरकार विचको सहकार्यमा विना अर्थतन्त्र चलायमान हुन नसक्ने बताउनुभयो ।

उहाँले गाउँपालिका व्यवसायीहरुको लागि दर्ता प्रक्रिया र कर सम्बन्धी तालिम संचालन गरे पनि प्रभावकारी नभएको बताउनुभयो । पर्यटन प्रवद्र्धनको लागि गाउँपालिकाको सहयोगमा गत बर्ष महोत्सव संचालन गर्ने तयारी भएपनि कोभिडका कारण स्थगित भएको जानकारी दिनुभयो ।

म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष बेलबहादुर कटुवालले संघ,प्रदेश र स्थानीय सरकारले उद्योगी व्यवसायीलाई उपेक्षा गरेको बताउँदै कानुन अनुसार आत्मसम्मानको साथ व्यवसाय गर्ने बातावरण सिर्जना गरिदिनुपर्नेमा जोड दिनुभयो । उहाँँले उद्योगी व्यवसायी पनि राज्यको कानुनी दायरामा आउनुपर्ने बताउनुभयो । वडा अध्यक्ष सन्तोष सुवेदीले संघियता अनुसार स्थानीय तहलाई सबै अधिकार प्राप्त नहुँदा व्यवसायीहरुलाई सेवा प्रदान गर्न नसकिएको बताउनुभयो ।

कार्यक्रममा मालिका इकाईका सभापति लेकबहादर पुनले बार्षिक प्रतिवेदन प्रस्तुत गर्दै विकास निर्माण ,व्यवसायीहरुको हकहित र आपतकालिन अवस्थामा इकाईले सहयोग गर्दै आइरहेको बताउनुभयो । उहाँले उद्योगी व्यवसायीहरुलाई स्थानीय तहबाट सेवा सुविधा प्रदान गर्ने उद्धेश्यले गाउँपालिकाको सात वटै वडामा निकट भविष्यमा संघको बजार इकाई उपसमिति गठन गर्ने योजना रहेको बताउनुभयो ।साथै उहाँले कोभिडबाट व्यवसायमा ठुलो असर परेको बताउँदै सरकारले राहतको कार्यक्रम ल्याउनुपर्नेमा जोड दिनुभयो ।

इकाईका पुर्व सभापति मोतिराज गौतम ,मंगला इकाईका अध्यक्ष राजु पाण्डे ,पश्चिम नेपाल सहकारीका आर्थिक प्रवन्धक मेघराज शर्मा ,हुलाकचोक टोल सुधार समितिका अध्यक्ष शेरबहादुर पुन लगायतले बोल्नुभएको थियो । इकाईका सचिव अमृत सापकोटाले संचालन गर्नुभएको कार्यक्रममा कोषाध्यक्ष बेदिराम सुवेदीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने उपाध्यक्ष खड्क छन्त्यालले समापन गर्नुभएको थियो । कार्यक्रममा हितकोष रकम हस्तान्तरण गरिएको थियो । यसैगरी कार्यक्रममा म्याग्दी उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष राजेश शाक्य, द्धितिय उपाध्यक्ष लिलाराम गौतम लगायत स्थानीय व्यवसायीको सहभागिता रहेको थियो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार