एसइई परीक्षामा देखिएको समस्या समाधान हुन्छ : पौडेल

काठमाडौँ । शिक्षा तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले माध्यामिक शिक्षा परीक्षा (एसइई) मा देखिएका समस्या छलफलबाट समाधान गर्दै जाने बताउनुभएको छ। यहाँस्थित लक्ष्मी मावि लङ्कुमा सञ्चालित एसइई परीक्षा निरीक्षणपछि आज पत्रकारहरुसँग कुराकानी गर्दै उहाँले एसइई परीक्षामा सामान्य केही समस्या देखिएको बताउनुभयो।

उहाँले भन्नुभयो, ‘केही प्रश्नपत्रहरुमा शिक्षकहरुको समेत गुनासो आएको छ। यसलाई हामी समीक्षा गर्छौं।’देशैभर एसइई शान्त रुपमा भइरहेको उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘विद्यार्थीले राम्रै परिणाम ल्याउँछन्।’कोभिडका कारणले परेको असरलाई शिक्षण तलमाथि नहुने गरी सम्पूर्ण प्रक्रिया अघि बढाएको उहाँको भनाइ थियो।

अर्को प्रसङ्गमा बोल्दै उहाँले चितवनमा निर्माण हुने भनिएको शिक्षक अस्पतालको काम प्रभावकारी तवरले अघि बढेको बताउनुभयो । कानुनी प्रक्रिया, जग्गा प्राप्ति बजेटको सुनिश्चितता लगायतको काम भइसकेको उहाँको भनाइ थियो।फरक प्रसङ्गमा बोल्दै उहाँले गठबन्धनले निर्वाचनलाई प्रभावकारी रुपले अगाडि बढाउने बताउनुभयो। उहाँले भन्नुभयो, ‘धेरै ठाउँमा मिलेको छ।

नमिलेको ठाउँमा पनि आज, भोलि १६ गतेसम्म मिलाउने गरी तयारी भइरहेको छ।’ बागी उम्मेदवारी दिनु राम्रो संस्कृति नभएको भन्दै उहाँले जुनसुकै दलभित्र पनि बागी देखा पर्नु र बागीको नाममा बार्गेनिङ गर्नु चाहिँ दलीय प्रणाली निर्वाचन आयोग, लोकतान्त्रिक मूल्यमान्यता र नैतिकताभित्र पर्ने कुरा नभएको बताउनुभयो। बागी उम्मेदवारहरुलाई आफ्नो दलले तुरुन्त फिर्ता बोलाएर दलहरुको सहमतिका आधारमा तय भएका उम्मेदवारलाई मात्रै राख्नुपर्ने उहाँको भनाइ छ। nagariknews.nagariknetworkबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार