काठमाडौंका नदीहरुमा ढल होइन पानी बगाउँछौं : सिंह

काठमाडौँ । सत्ता गठबन्धनबाट काठमाडौं मेयरकी उम्मेदवार सिर्जना सिंहले काठमाडौं नदीहरुमा अब ढलको व्यवस्थापन गरेर सफा पानी बग्ने बनाउने प्रमुख उदेश्य हुने सिंहले बताउनुभएको छ । महानगरलाई स्वच्छ, सफा, सुन्दर र सुशासन युक्त बनाउने आफ्नो लक्ष्य भएको उहाँले बताउनुभएको हो ।

काठमाडौं चेतनशील राष्ट्रिय व्यवसायीक समाजद्वारा आयोजित ‘उम्मेदवारसँग मतदाता’ विषयक कार्यक्रममा सिंहले भन्नुभयो, ‘अब काठमाडौंका नदीमा ढल होइन पानी बगाउँछौं ।,’ उहाँले काठमाडौं शहरलाई व्यवस्थापन गर्ने समेत बताउनुभयो । ‘काठमाडौं समृद्ध छ, व्यवस्थापन नभएको हो, मेरो जिम्मेवारी व्यवस्थापन गराउने हो,’ सिंहले भन्नुभयो ।

ठूला सपना देखाउने भन्दा पनि गर्न सकिने र गर्नुपर्ने कामको सूची आफूसँग रहेकोले सबै सँगको सहकार्यमा काठमाडौं सुधार्ने सिंहले दावी गर्नुभयो । काठमाडौं बनाउनुको विकल्प नरहेको बताउदै काँग्रेसले निकालेको घोषणापत्र र आफ्नो संकल्प पत्रलाई हेरेरनै काठमाडौंको विकास गर्ने सिंहले बताउनुभयो । अहिलेको नेतृत्वले फोहोरो समेत व्यवस्थापन गर्न नसक्नु दुर्भाग्य भएको समेत बताउनुभयो ।

काठमाडौंको फोहोर घरघरबाटै व्यवस्था गर्न सकिने विज्ञहरुले सुझाव दिएको बताउँदै फोहोरलाई विना कारण ठुलो समस्या बनाएको समेत सिंहको भनाइ छ । ‘हामी काठमाडौंलाई फोहोर हुन दिने छैनौ, विदेशी आउँदा नाक खुम्च्याउने छैनन, सम्पदाको संरक्षण गर्ने छौ,’ सिंहले भन्नुभयो । ‘भ्रष्टाचारमुक्त काठमाडौं बनाउने हो, डिजिटल प्रविधिको प्रयोग गरेर घरबाटै सेवा दिने हो,’ सिंहले भन्नुभयो। मध्यरातमा हिड्ने वातावरणसहितको सुरक्षित काठमाडौं बनाउने सिंहले बताउनुभयो ।

‘काठमाडौं ७७ जिल्लाबासीको महानगर हो । सबैको सुरक्षाको जिम्मा लिन छु,’ सिहंले भन्नुभयो । महिला र पुरुष सबैलाई आत्मनिर्भर बनाउनेनै आफ्नो दायित्व हुने सिंहले बताउनुभयो । ‘अब काठमाडौंमा पार्क र पोखरी बन्छन्, खुल्ला मैदान सुरक्षित हुन्छन् । सिंहले भन्नुभयो, ‘३२ वडामा जेष्ठ नागरिक भवन बनाउने पार्क बनाउँछौं ।’ काठमाडौं २४ घन्टा खुला राखेर चुस्त सार्वजनिक यातायातको सेवा दिलाउने र पीपीपी मोडलबाट सार्वजनिक यातायात सुधार गर्ने समेत सिंहले बताउनुभयो ।

सार्वजनिक यातायातको समस्याले निजी सवारी बढेको र ट्राफिसको समस्या समाधान हुन नसकेकोले सार्वजनिक यातायातमा मुख्य जोड दिने सिंहले बताउनुभयो । सडक सुधार गर्न सबैसँग सहकार्य गरेर धुलो र हिलो रहित काठमाडौं बनाउने सिंहले बताउनुभयो । काठमाडौंका सम्पदा संरक्षण गर्न आवश्यक रहेको बताउँदै अल्पकालीन र दीर्घकालीन योजना बनाएर विश्वको पर्यटनको गन्तव्य काठमाडौं बनाउने सिंहले घोषणा गर्नुभयो। सेवा, सुशासन, शिक्षा स्वास्थ्य तथा समाजिक सुरक्षा र सुरक्षित काठमाडौं शहर नै सबैको सपना भएको बताउनुभयो । सिंहले आफूले मेयर भएपछि गर्ने ७ वटा संकल्प आगाडि सारेको बताउँदै दिगो पर्यावरण संस्कृति र सम्पदाको संरक्षण सहितको सृजनशील महानगरबासी बनाउने उद्घोष समेत बताउनुभयो । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार