विकासका लागि कांग्रेसका उम्मेद्वारलाई जिताउनुस् : सभापति गर्बुजा

बेनी । नेपाली कांग्रेस म्याग्दीका सभापति खमबहादुर गर्बुजा ‘खम्बिर’ले विकास र समृद्धीका लागि कांग्रेसका उम्मेद्वारहरुलाई जिताउन आह्वान गर्नुभएको छ । सोमबार मालिका गाउँपालिकाको वडा नम्बर २ रुममा आयोजित चुनावी आमसभालाई सम्बोधन गर्दै सभापति बर्गुजाले यस्तो बताउनुभएको हो । ‘राजनितिक स्थायीत्व ,सुशासन र दिगो विकासका लागि कांग्रेसका उम्मेद्वारहरुलाई भोट दिएर जिताउनुस् ,’ सभापति गर्बुजाले भन्नुभयो । कांग्रेसले विकास ,जनताको सेवा ,सुशासन र पारदर्शितालाई प्राथमिकता दिएको सभापति गर्बुजाले बताउनुभयो ।

कांग्रेसको नेतृत्व रहेको मालिकाले पाँच बर्षको अवधिमा विकासमा ठुलो उपलब्धी हासिल गरेको बताउँदै अधुरा रहेका योजना पुरा गरी समृद्धी गाउँपालिका निर्माणका लागि कांग्रेसका उम्मेद्वारलाई जिताउन अपिल गर्नुभयो । उहाँले दुई तिहाई नेकपाको सरकार आफ्नै कारण सडकमा आउनुपरेको दावी गर्दै कांग्रेसको नेतृत्वमा मात्र देशले विकास र निकास पाउने बताउनुभयो । संविधानको रक्षाका लागि कांग्रेसको नेतृत्वमा पाँच दलीय गठबन्धन निर्माण भएको सभापति गर्बुजाले बताउनुभयो ।

कांग्रेसले घोषणापत्रमा युवा स्वरोजगार कार्यक्रमलाई प्राथमिकता दिएको उहाँको भनाई थियो । कांग्रेसले गरिखाने कार्यक्रम मार्फत विना धितो युवाहरुलाई व्यवसायीक लगानीको वातावरण बनाएको बताउनभयो । उहाँले जिल्लामा आगमी ३० बैशाखमा हुने निर्वाचनमा कांग्रेसले ६ वटै पालिकामा जित हासिल गर्ने दावी गर्नुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार