म्याग्दी र जलजलामा एकिकृत समाजवादीको साथ गठबन्धनलाई

बेनी। नेकपा एकिकृत समाजवादी म्याग्दीले नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको गठबन्धनका उमेद्वारलाई साथ दिने भएको छ ।वैशाख १६ गते तालमेल प्रति असन्तुष्टि जनाउदै गठबन्धनबाट बाहिरिदै धवलागिरी गाउँपालिका बाहेकका पालिकामा दर्ता गरेको मनोनयन फिर्ता गरेका एसका नेताहरु आइतबारदेखि गठबन्धनको उमेद्वारको प्रचारमा हिडेका छन् ।

पाँच दलीय गठबन्धनका जिल्ला स्तरीय नेताहरुबीच हालै भएको सहमति अनुसार एकिकृत समाजवादीले गठबन्धनलाई साथ दिने निर्णय लिएको नेताहरुले बताएका छन् ।नेकपा एकिकृत समाजवादीका म्याग्दी जिल्ला अध्यक्ष कृष्णकुमार विश्वकर्मा आइतबार बेनी नगरपालिका–९ तोरीपानी र सोमबार वडा नम्बर ६ को अर्थुङ्गेमा भएको गठबन्धनको चुनाव प्रचार सभामा सहभागि हुनुभयो ।

जिल्ला सचिवालय सदस्य रुद्र किसानले आइतबार दरवाङमा भएको नेकपा माओवादी केन्द्रको चुनावी सभालाई सम्बोधन गर्नुभयो । अर्का नेता देउप्रसाद छन्त्यालले गठबन्धनले ताकममा गरेको चुनावी सभामा एमालेका नेताले नेतृत्व गरेको धवलागिरी गाउँपालिकाको बेतिथि र विकृतिको भण्डाफोर गर्नुभयो ।

यसैगरी जलजला गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा एकिकृत समाजवादीको तर्फबाट उमेद्वार बनेका नेताहरुले सोमबार विज्ञप्ति निकालेर काँग्रेस–माओवादी गठबन्धनका उमेद्वारलाई सर्मथन गरेको घोषणा गर्नुभएको छ ।अध्यक्षका उमेद्वार देवीलाल चापागाई र उपाध्यक्षका उमेद्वार संगिता सुवेदीले उमेद्वारी फिर्ता लिएर गठबन्धनका उमेद्वारलाई सर्मथन गरेको घोषणा गर्नुभएको हो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार