देउवाले भोट माग्दै भने – अरु कुरा गर्छन्, हामी काम गर्छौं

काठमाडौँ । प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले स्थानीय तह निर्वाचन लोकतन्त्र र संघीय शासन प्रणालीको आधारस्तम्भ भएको बताउनुभएको छ । मंगलबार मतदातालाई अपिल जारी गर्दै देउवाले स्थानीय तह हरेक नागरिकका सुख दुःखमा साथ दिने र आफ्नै घर आँगनमा सरकारको अनुभूति गराउने राज्य संयन्त्र भएको पनि बताउनुभयो ।

संघीय लोकतान्त्रिक गणतन्त्रलाई जगैदेखि संस्थागत र सुदृढ गर्ने स्थानीय तह निर्वाचनमा निर्भिकताका साथ सहभागी भई मतदान गर्न पनि देउवाले मंगलबार विज्ञप्तिमार्फत आह्वान गर्नुभएको छ । उहाँले स्थानीय तह निर्वाचनमा लोकतान्त्रिक संस्कार र संस्कृतिमा आधारित समतामूलक समाज निर्माणका लागि सुसंस्कारयुक्त राजनीतिक बागडोरको जिम्मा लगाउने अधिकार नागरिकको हातमा आएको बताए ।स्थानीय तहलाई कानूनतः सबल र समृद्ध बनाउने प्रतिवद्धता पूरा गर्न काँग्रेस कसैसँग सम्झौता नगर्ने देउवाले बताउनुभयो ।

तर नीति निर्माण र कानून बनाउने थलो संसदलाई बन्धक बनाएर राख्ने अराजनीतिक र अलोकतान्त्रिक क्रियाकलाप नै यसका बाधक भएको देउवाले बताउनुभयो । संविधानलाई कुल्चेर जनादेशको घोर अपमान गरी पटक–पटक संसद विघटन गरेपछि काँग्रेसको नेतृत्वमा संविधानको अक्षरका लागि पाँच दलीय गठबन्धन बनेको उहाँको भनाइ छ । गठबन्धनको सरकारले कोभिड – १९ को नियन्त्रण गर्नुका साथ काठमाडौंबासीलाई मेलम्चीको पानी वितरण गरिएको बताउनुभयो ।

‘नेपाली कांग्रेस जे भन्छ, त्यो पूरा गर्छ, मतदातालाई खोक्रो नारा र सस्तो लोकप्रियताको भ्रममा पार्दैन भन्ने प्रमाणित गरेको छ,’विज्ञप्तिमा उल्लेख छ ।
काँग्रेस आम नेपाली नागरिकको ढुकढुकी हो भन्दै देउवाले ‘सबल स्थानीय सरकारस् समुन्नत गाउँ, समुन्नत नगर’ काँग्रेसको मूलमन्त्र भएको बताउनुभयो । देउवाले भन्नुभयो, ‘अरु कुरा गर्छन्, हामी काम गर्छौं’ । ‘सबल स्थानीय सरकारस् समुन्नत गाउँ, समुन्नत नगर’ हाम्रो मूलमन्त्र हो ।’ यस्तै एमसीसी पारित भएसँगै पूर्वाधार विकासमा अन्तर्राष्ट्रिय सहयोग र लगानीका थप सम्भावनाका ढोका खुलेको देउवाको दाबी छ । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार