योग्य उम्मेदवार छनौटका लागि मतदानमा सहभागी हुनुहोस्ः मुख्यमन्त्री

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्दै, कसैको प्रभावमा नपरी स्वतन्त्ररुपमा योग्य उम्मेदवारको छनौटका लागि मतदानमा संलग्न हुनसम्पूर्ण प्रदेशवासीमा अपिल गर्नुभएको छ । स्थानीय तह निर्वाचन २०७९ का सन्दर्भमा मंगलबार आह्वान पत्र जारी गर्दै मुख्यमन्त्री पोखरेलले भन्नुभएको छ, ‘हाम्रो मत नै मुलुक रुपान्तरणको आधार भएकाले मतदानको अधिकार विवेकपूर्णरुपमा प्रयोग गर्नुहुनेछ भन्नेमा विश्वस्त छु।’

स्थानीय तह जनताको समीपमा रहेर जनताको हेरक गतिविधिमा साथ दिने सरकार हो भन्दै मुख्यमन्त्री पोखरेलले लोकतन्त्रमा विश्वास गर्ने, जनताको अधिकारको रक्षा गर्न सक्षम, विकासप्रेमी, इमान्दार, कर्तव्यनिष्ठ र सेवा भावले ओतप्रोत उम्मेदवारलाई छनौट गर्न सकेमा मात्र आगामी ५ वर्ष हामीले चाहे बमोजिमको सेवा प्राप्त गर्न सकिने उल्लेख गर्नुभएको छ ।

लोकतन्त्रको महत्वपूर्ण आधार र सुन्दर पक्ष नै आवधिक निर्वाचन हो। संविधानसभामार्फत् २०७२ मा जारी भएको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक नेपालको संविधानमा व्यवस्था भए बमोजिमको ३ तहको सरकारमध्ये जनताको समीपमा रहेको स्थानीय तहको १ कार्यकाल सफलतापूर्वक सम्पन्न भई विशेष अनुभवका साथ मुलुक अहिलेस्थानीय तहको दोस्रो कार्यकालका लागि निर्वाचनमा जुटिरहेको छ।

मुख्यमन्त्रीले भन्नुभएको छ, ‘यस सुखद घडीमा सम्पूर्ण प्रदेशवासीमा बधाई ज्ञापन गर्न चाहन्छु। यसै क्षणमा हामीलाई उन्नत अवस्थाको शासन प्रणाली उपलब्ध गराउन बलिदानी गर्नुहुने सम्पूर्ण सहिदप्रति हार्दिक श्रद्धाञ्जली प्रदान गर्दै अग्रजहरु प्रति हार्दिक कृतज्ञता व्यक्त गर्दछु।’लामो र कठोर बलिदानीपूर्ण संघर्षबाट नेपाली जनताले प्राप्त गरेका उपलब्धि बचाइ राख्नका लागि आवधिक निर्वाचन अनिवार्य शर्त रहेको मुख्यमन्त्रीले उल्लेख गर्नुभएको छ।

आह्वानपत्रमा भनिएको छ, ‘वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई भयरहित, स्वच्छ एवं मर्यादित तबरले सम्पन्न गर्ने, गराउने दायित्य सरकारसँगै राजनीतिक दल, नागरिक समाज, निजी क्षेत्र एवं आमसञ्चार माध्यमसमेतको हो ’ राष्ट्रसेवक कर्मचारी, सुरक्षाकर्मी, पर्यवेक्षणमा खटिने राष्ट्रिय अन्तर्राष्ट्रिय संघ संघसंस्था एवं सरोकारवाला सबै निश्पक्ष एवं भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउन अग्रसर हुनका लागि उहाँले आह्वान गर्नुभएको छ । धेरैभन्दा धेरै प्रदेशवासीको संलग्नतामा स्थानीय तहको निर्वाचन निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न होस् भन्ने शुभकामना व्यक्त गर्दै कोरोनाको त्रास कायमै रहेकाले सामाजिक दुरी र स्वास्थ्य मापदण्ड अनपाउन उहँले अनुरोध गर्नुभएको छ । nagariknews.nagariknetworkबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार