ओलीले कानले सुन्ने खालका मात्र विकास गर्नुहुन्छ : महामन्त्री शर्मा

बिर्तामोड । कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले केपी ओलीको पार्टीले कानले सुन्ने खालका विकासको नेतृत्व गर्ने गरेको आरोप लगाउनुभएके छ । गृहजिल्ला झापाको बिर्तामोडमा मंगलबार आयोजित गठबन्धनको चुनावीसभालाई सम्बोधन गर्दै शर्माले आँखाले देख्ने खालको विकासको नेतृत्व कांग्रेसले मात्र गरेको दाबी गर्नुभयो ।

‘देशमा दुई खाले विकास छ । एकखाले विकासको नेतृत्व कमरेड केपी ओलीले गर्नुहुन्छ । अर्कोखाले विकासको नेतृत्व हामी (कांग्रेस) ले गर्छौं । ओलीले नेतृत्व गरेको विकास अलि स्वादिलो हुन्छ, कानले सुन्ने खालको मात्र आँखाले देख्नेबेलामा हुँदैन । कानले सुन्नेखालको विकासले हुँदैन । आँखाले देख्नेखालको विकास चाहिएको छ । त्यो विकासको लागि हामी छौं,’ उहाँले भन्नुभयो ।

उहाँले गठबन्धनका उम्मेदवारलाई विकासको धेरै लामो फेहरिस्त बोकेर नहिँड्न सुझाउनुभयो । उहाँले आममानिसलाई आवश्यक र गर्न सकिने कामको फेहरिस्त मात्र बनाउन आग्रह गर्नुभयो । नेता शर्माले अबको दुई दिन विकल्पको बाटोबाट मतदाता शिक्षामा जोड दिन आग्रह गर्नुभयो । उहाँले मतदातालाई राम्ररी बुझाउन नसके योपल्ट बदर मतको संख्या निकै बढ्ने अवस्था रहेको बताउनुभयो । ‘अब दलबलसहित चुनावी गतिविधि गर्न पाइँदैन । तर, यो दुई दिन विभिन्न विकल्पको बाटोबाट मतदातालाई कसरी भोट दिने भन्ने शिक्षा दिनेतर्फ लागौं । नत्र, योपल्ट धेरै मत बदर हुने अवस्था छ’ उहाँले भन्नुभयो । ekantipurबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार