धनगढीका मेयर हमालको प्राथमिकता : सचिवालय सुदृढ बनाउने, अधुरा योजना सम्पन्न गर्ने

धनगढी । कैलालीको धनगढी उपमहानगरपालिकाका नवनिर्वाचित मेयर गोपाल हमालले सचिवालय सदृढ बनाउने र अधुरा योजनाहरु समयसीमा भित्र सम्पन्न गर्ने कामलाई पहिलो प्राथमिकता दिने बताउनुभएको छ । मेयर पदमा विजयी भएपछि आज बिहान पत्रकारहरुलाई प्रतिक्रिया दिंदै उहाँले सो कुरा बताउनुभएको हो।

‘आर्थिक वर्षको अन्त पनि आइसकेको छ, त्यसैले जति पनि पेन्डिङ योजनाहरु छन् तिनलाई समयसीमा भित्र गुणस्तर कायम गरेर सम्पन्न गर्नेमै ध्यान दिन्छौं,’ हमालले भन्नुभयो । उहाँले सचिवालयलाई चुस्त, दुरुस्त, पारदर्शी र जनमुखी बनाउने कामलाई पनि पहिलो प्राथमिकता दिने बताउनुभयो । ‘पहिलो प्राथमिकता सचिवालय सुदृढीकरण हुन्छ । किनभने जबसम्म सचिवालय सुदृढीकरण हुँदैन, तबसम्म कुनै पनि योजनाहरु सही तरिकाले कार्यान्वयन हुँदैनन्’ उहाँले भन्नुभयो ।

अहिलेको सचिवालयलाई कसरी सुदृढ बनाउन सकिन्छ भनेर कार्यालय प्रमुख, विभिन्न शाखा प्रमुखहरुसँग छलफल गर्ने उहाँले जानकारी दिनुभयो । उहाँले इमान्दारीपूर्वक सबैको साझा उपमहानगरपालिकाको रुपमा धनगढीलाई विकास गर्ने बताउनुभयो । हमालले निवर्तमान मेयर कांग्रेसका नृपबहादुर ओडलाई झण्डै दोब्बर मत ल्याएर पराजित गर्नुभएको हो । अघिल्लो निर्वाचनमा हमाल ओडसँग पराजित हुनुभएको थियो । उपमेयरमा भने एमालेकी कन्दकला राना विजयी हुनुभएको छ । अनलाइन्खबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार