बिरामीलाई अस्पताल जान वडाले नि:शुल्क एम्बुलेन्स उपलब्ध गराउने

काठमाडौँ । गोरखाको शहिदलखन गाउँपालिका वडा नम्बर ७ ले बिरामीलाई अस्पताल जानका लागि एम्बुलेन्स सेवा उपलब्ध गराउने भएको छ । बिरामीलाई स्थानीय स्वास्थ्य संस्थाबाट रिफर भई थप उपचारका लागि गोरखा जिल्ला अस्पताल जानुपर्दा वडाले निस्शुल्क रूपमा एम्बुलेन्स उपलब्ध गराउने निर्णय भएको वडाध्यक्ष शरण श्रेष्ठले बताउनुभयो ।

‘वडाभित्र बसोबास गर्ने सबै उमेर समूहका नागरिकलाई बिरामी पर्दा एम्बुलेन्स निस्शुल्क उपलब्ध गराउँछौं,’ उहाँले भन्नुभयो, ‘बुंकोट स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीको सल्लाहबमोजिम बिरामीलाई थप उपचारका लागि जिल्ला अस्पताल जानुपर्ने भएमा एम्बुलेन्स सेवा उपलब्ध गराइन्छ।’यस्तो सेवा एक बिरामीका लागि वर्षमा एकपटक मात्रै हुने पनि श्रेष्ठले बताउनुभयो।

एम्बुलेन्स भाडा भने वडाले उपलब्ध गराउने निर्णय गरिएको उहाँले बताउनुभयो । श्रेष्ठ यो वडामा दोस्रो कार्यकालका लागि निर्वाचित भएसँगै यो निर्णय गर्नुभएको हो । उहाँ ०७४ मा पनि नेपाली कांग्रेसबाट वडाध्यक्ष निर्वाचित हुनुभएको थियो । त्यसबेला उनले आफूले पाउने पारिश्रमिक वडाभित्र शिक्षा, स्वास्थ्यलगायत क्षेत्रमा खर्च गर्नुभएको थियो । सेतोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार