देश लिलाम हुने स्थितिमा छ : सुवाल

भक्तपुर । नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का सचिव एवं संघीय सांसद प्रेम सुवालले देश लिलाम हुने स्थितिमा पुगेको बताउनुभएको छ । चाँगुनारायण नगरपालिका–८ ताथलीले आयोजना गरेको बधाई तथा धन्यवाद ज्ञापन कार्यक्रममा उनले देशको अर्थतन्त्र नाजु्क अवस्थामा पुगेको बताउँदै देश नै लिलाम हुने स्थितिमा पुगेको बताउनुभएको छ ।

उहाँले शासक तथा ठुला दलको अर्कमण्यताको कारण देशको ऋण बढिरहेको उल्लेख गर्नुभयो । स्थानीय तहको निर्वाचन २०७९ मा चाँगुनारायण नगरपालिका वडा नम्बर ९ ताथलीमा निर्वाचित जनप्रतिनीधिहरुलाई बधाई तथा मतदाताहरूलाई धन्यवाद ज्ञापन कार्यक्रममा सांसद् सुवालले देशको अर्थतन्त्र खोक्रो बन्दै गइरहँदा पनि शासक दलहरुले त्यतातिर ध्यान दिन नसकेको बताउनुभयो ।

स्थानीय तहको निर्वाचनको समीक्षा गर्दै उहाँले ठुला दलहरूले आफू जित्नका लागि सिद्धान्तहीन सम्झौता गरी जनतालाई झुक्याएको समेत बताउनुभयो । उहाँले ठूला दलहरुले गठबनधनको नाममा प्रजातन्त्रविपरीत काम गरेको उल्लेख गर्दै कांग्रेस, एमाले, माओवादी, राप्रपा, जसपा सिद्धान्तमा टिक्न नसकेको चर्चा गर्नुभयो ।

नेपाल मजदुर किसान पार्टीले सिद्धान्तविपरीत कुनै काम नगरेको कारण अन्य दलहरूका लागि नेमकिपा चुनौती बनिरहेको सन्दर्भ जोड्दै उहाँले राष्ट्रियता र सार्वभौमिकता रक्षाको सन्दर्भमा नेमकिपाको जीत भएको बताउनुभयो । कार्यक्रममा उहाँले निर्वाचित जनप्रतिनीधिहरुले देश र जनताको निःस्वार्थ सेवा गर्न, पूवाग्रहविना काम गर्न निर्देशन समेत दिनुभयो । उहाँले पार्टीको सिद्धान्त र विचारबाट विचलित नभइ काम गर्नुपर्ने समेत बताउनुभयो । नागरिक खबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार