अन्तर्घातको आरोपमा एमाले कास्कीले गर्‍यो ३ जनालाई कारबाही

पोखरा । नेकपा (एमाले) कास्कीले स्थानीय चुनावमा अन्तर्घातको आरोपमा तीन जना पार्टी सदस्यलाई कारबाही गरेको छ। वैशाख ३० मा सम्पन्न स्थानीय निर्वाचनमा पोखराको मेयरमा एमाले उम्मेदवार कृष्ण थापालाई हराउन भूमिका खेलेको आरोपमा कारबाही गरेको हो।

एमाले कास्कीका अध्यक्ष मनबहादुर गुरूङका अनुसार पोखरा महानगर वडा नम्बर २१ का संगठित सदस्य मनोज पहारी, वडा नम्बर ३३ का वडा कमिटी उपाध्यक्ष महेश अर्याल र वडा नम्बर ३३ कै संगठित सदस्य प्रशान्त आचार्यलाई कारबाही गरिएको छ। उनीहरूलाई जिम्मेवारीबाट मुक्त गरेर पार्टी साधारण सदस्यबाट निलम्बन गरेको जिल्ला अध्यक्ष गुरूङले जानकारी दिनुभयो।

पार्टीका मेयर उम्मेदवार थापालाई हराएर गठबन्धन उम्मेदवार नेकपा एकीकृत समाजवादीका धनराज आचार्यलाई जिताउन भूमिका खेलेको उनीहरूलाई आरोप छ। कारबाहीअघि उनीहरूसँग स्पष्टिकरण सोधेको जिल्ला अध्यक्ष गुरूङले बताउनुभयो । पार्टी अनुशासन उल्लङ्घन गरेकाले उनीहरूलाई कारबाही गरेको उहाँको भनाइ छ।

कारबाहीमा परेका व्यक्तिहरूले पार्टीका उम्मेदवार हराउन फोनवार्ता गरेको २ वटा अडिओ सार्वजनिक भएको थिए। उक्त अडिओमा एमाले उम्मेदवार थापालाई हराएर धनराजलाई जिताउने र त्यसका लागि आर्थिक मोलमोलाई समेत गरेको अडिओमा सुन्न सकिन्छ। थापालाई हराउँदा पार्टी उपमहासचिव पृथ्वीसुब्बा गुरूङ, केन्द्रीय सचिव एवं गण्डकी इन्चार्ज पद्मा अर्याल, केन्द्रीय सदस्य राजिव पहारी लगायतले आफूहरूलाई कुनै कारबाही नगर्ने उनीहरूको फोनवार्तामा उल्लेख छ।

कास्कीकै नेता एमाले संगठन विभाग प्रमुख खगराज अधिकारीले उनीहरूलाई गरिएको कारबाहीबारे आफूलाई कुनै जानकारी नदिएको प्रतिक्रिया दिनुभयो। अन्तर्घातका विषयमा गहन अध्यन नै नगरी अपरिपक्व निर्णय गरेको उहाँले बताउनुभयो । ‘अनुसन्धान नै नगरी आंशिक कुरा गरिएछ, जो जसको नाम उल्लेख छ, ती सबैको खोज अनुसन्धान गर्नुपर्छ,’ उहाँले भन्नुभयो, ‘अहिले गरिएको भनिएको कारबाहीमा परिपक्वता छैन।’जिल्ला कमिटीले गरेको भनिएको कारबाही पार्टीको पूर्ण बैठकले नगरेको उहाँले बताउनुभयो।‘उहाँहरूले के गर्नुभयो मलाई रिर्पोटिङ पनि छैन, जानकारी पनि छैन,’ उहाँले भन्नुभयो, ‘के रैछ हामी खोजौंला।’ सेतोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार