बजेटले सही दिशा पक्रेको छ : गगन थापा

काठमाडौँ । नेपाली काँग्रेसका सांसद गगनकुमार थापाले आव २०७९/८० को बजेटले व्यापार घाटा घटाउनका लागि सही दिशा पक्रेको बताउनुभएको छ । बिहीबार प्रतिनिधिसभाको बैठकमा आव २०७९/८० को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलमा भाग लिँदै सांसद थापाले व्यापार घाटा कम गर्न उत्पादकत्व बढाउनुपर्ने उल्लेख गर्दै बजेटमा उत्पादनको स्पष्ट दृष्टिकोण प्रस्तुत भएको बताउनुभएको हो ।

उहाँले बजेटले उपयुक्त प्राथमिकता, गति र दृष्टिकोण समातेको बताउनुभयो । उहाँले कृषिलाई प्राथमिकता दिएर स्रोत विनियोजन पनि ठिक ढंगले भएको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो– ‘व्यापार घाटा कम गर्न उत्पादन बढाउनुपर्ने छ । उत्पादकत्व बढाउनुपर्ने छ । त्यसैले आयातबाट उत्पादन तर्फको स्पष्ट दृष्टिकोणका साथ अर्थमन्त्रीले ल्याउनुभएको बजेटले उपयुक्त प्राथमिकता, गति, दृष्टिकोण समातेको छ ।

उत्पादनमा आधारित अर्थतन्त्र भनेर यसले उद्देश्य पनि स्पष्ट लिएको छ । ्यसको लागि प्राथमिकतामा कृषि नै रहनुपर्थ्यो । स्रोत विनियोजन पनि ठिक छ । उपयुक्त कार्यक्रमहरु छनौट भएको छ । मूलतः व्यापार घाटा घटाउने कुराको सन्दर्भमा यसले सही दिशा पक्रेको छ ।’सांसद थापाले बजेटमा नीजि क्षेत्रको संस्थागत मागहरुलाई सम्बोधन गरिनुले अर्थतन्त्रलाई थप चलायमान बनाउने बताउनुभयो ।

बजेटले पेट्रोलियम पदार्थको निर्भरता घटाउने सन्दर्भमा आवश्यक लक्ष्य लिएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो– ‘नीजि क्षेत्रलाई आर्थिक वृद्धिको इन्जिन मानेर नीजि क्षेत्रका विभिन्न संघ, संस्थाले दिएको मागहरुको यो पटक यथोचित सम्बोधन भएको छ । चाहे त्यो जग्गाको हदबन्दी सम्बन्धी विषय होला । चाहे लिजमा दिने कुरा होला । चाहे कर्जा प्रवाहको कुरा होला । चाहे वैदेशिक लगानीको कुराहरु होला । नीजि क्षेत्रका संस्थागत मागहरुको सम्बोधन भएको छ ।

अर्थतन्त्रलाई थप चलायमान बनाउने कुराको अपेक्षा गर्न सकिन्छ । पेट्रोलियम पदार्थको निर्भरता घटाउने कुराको सन्दर्भमा जुन लक्ष्य लिनुपर्ने थियो, यसले त्यसलाई पनि पक्रेको छ । त्यसैले यो सिद्धान्तको हिसाबले पनि ठिक छ । प्राथमिकताको हिसाबले पनि ठिक छ । यो समयले जे माग गरेको छ, त्यसलाई अर्थमन्त्रीजीले बुझेर ल्याउनुभएको छ, म यसको स्वागत गर्छु ।’उहाँले बजेटले समयको मागलाई सम्बोधन गरेको बताउनुभयो । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार