मन्त्री हेरफेरबारे केही निर्णय भएको छैन : खतिवडा

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्री तथा एकीकृत समाजवादीका नेता विरोध खतिवडाले मन्त्री हेरफेरको विषयमा कुनै निर्णय नभएको बताउनुभएको छ । आइतबार बसेको एकीकृत समाजवादीको सचिवालय बैठकले सरकारमा भएका मन्त्रीहरूलाई फिर्ता बोलाएर नयाँ नाम प्रधानमन्त्रीलाई सिफारिस गर्ने निर्णय गरेको थियो ।

सोमबार बेलुकासम्म नयाँ मन्त्रीहरूको सपथ ग्रहण हुने कार्यक्रम तय भएका बेला खतिवडाले मन्त्री हेरफेरको विषयमा कुनै निर्णय नभएको बताउनुभएको हो। मन्त्री हेरफेरको विषयमा समाजवादीले सिफारिस गरेको हो भन्ने प्रश्नमा मन्त्री खतिवडाले भन्नुभयो, ‘मन्त्री सिफारिसको विषयमा कुनै निर्णय भएकै छैन । के पो भनेर सोध्नुभएको छ जहिल्यै पनि ।’

मन्त्रिपरिषद् फेरबदल भएको विषयमा कुनै निर्णय भएको भए यस विषयमा जानकारी दिन सकिने तर, कुनै निर्णय नै नभएको विषयमा के जवाफ दिने भनेर उहाँले प्रश्न गर्नुभयो । मन्त्री हेरफेरको विषयमा भने सरकारमा सहभागी मन्त्रीहरूले असन्तुष्टि व्यक्त गर्दै आएका थिए । मन्त्री हेरफेरको चर्चा चलेपछि स्वास्थ्यमन्त्री खतिवडा र पर्यटनमन्त्री प्रेम आलेले पार्टी अध्यक्ष माधवकुमार नेपाललाई भेट्नुभएको थियो । भेटका क्रममा उनीहरूले आफूलाई फिर्ता बोलाउने विषयमा असन्तुष्टि व्यक्त गर्नुभएको थियो ।

अध्यक्ष नेपालले भने मन्त्री नियुक्त हुने बेला नै ६ महिनाको लागि मात्र हो भनेर गराइएको बताउनुभएको थियो । नयाँ मन्त्रीहरूको सोमबार सपथ ग्रहणको कार्यक्रम पनि तय भइसकेको थियो । तर, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट सपथ ग्रहणको कुनै जानकारी दिइएको छैन । समाजवादीले नयाँ मन्त्रीको रूपमा जीवनराम श्रेष्ठलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, मेटमणि चौधरी सहरी विकास, शेरबहादुर कुँवरलाई श्रम तथा रोजगार मन्त्रीमा पठाउने निर्णय गरेको थियो ।

स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री रहेका भवानी खापुङलाई स्वास्थ्यमन्त्रीमा बढुवा गरेर प्रधानमन्त्रीलाई नाम सिफारिस गरेको थियो । स्वास्थ्य राज्यमन्त्रीमा हिराचन्द्र केसीलाई पठाउने निर्णय गरेको थियो । एकीकृत समाजवादीले पर्यटन मन्त्रीबाट प्रेमबहादुर आले, स्वास्थ्य मन्त्रीबाट विरोध खतिवडा, सहरी विकास मन्त्रीबाट रामकुमारी झाँक्री र श्रम मन्त्रीबाट कृष्णकुमार श्रेष्ठलाई फिर्ता बोलाउने निर्णय गरेको थियो । रातोपाटीबाट

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार