मन्त्रीहरुको सपथ भोलिसम्म ग्यारेन्टी हुन्छ : चौधरी

काठमाडौँ । नेकपा(एकीकृत समाजवादी)को तर्फबाट शहरी विकासमन्त्रीमा सिफारिस भएका सांसद मेटमणि चौधरीले बिहीबारसम्ममा मन्त्री पदको सपथ ग्रहण गरिसक्ने बताउनुभएको छ । बुधबार प्रतिनिधि सभाको बैठकका लागि नयाँबानेश्वरस्थित संसद भवनमा पुग्नुभएका सांसद चौधरीले सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिदैँ मन्त्री पदको सपथ ग्रहण बिहीबारसम्ममा गरिसक्ने बताउनुभएको हो ।

उहाँले बुधबार(आज) नै सपथ ग्रहण हुनसक्ने सम्भावना रहेको पनि बताउनुभयो । उहाँले जनता समाजवादी पार्टीले आन्तरिक समस्या सम्बोधन गर्नका लागि केही दिन समय मागेका कारण एकीकृत समाजवादीबाट मन्त्रीमा सिफारिस भएकाहरुको सपथग्रहण रोकिएको बताउनुभयो । सांसद चौधरीले पार्टीले गरेको निर्णय कार्यान्वयन हुने बताउनुभयो । उहाँले भन्नुभयो, ‘पार्टीले निर्णय गर्‍यो। निर्णय गरिसकेपछि कार्यान्वयन हुन्छ। तर आज हामी पाँच दलिय गठबन्धन भित्रकै एउटा दल हो। एउटा पार्टी हो।

हामीले सपथ ग्रहण गर्ने टाइम कन्फर्म गरिराख्दाखेरी जसपाका साथीहरुले केही दिन हामीलाई पनि पार्टी भित्रको आन्तरिक समस्या सम्बोधनको लागि केही समय चाहिन्छ भनेपछि केही समय केहीदिन ढिला मात्रै भएको हो । मन्त्री त सम्भवत्ः आज नभए भोलिसम्म फाइनल हुन्छ। आज भएन भने सपथग्रहण भोली पक्कै हुन्छ।’उहाँले माओवादी केन्द्र र नेपाली कांग्रेसलाई पनि मन्त्रि हेरफेर गर्ने दबाब रहेको भन्दै सबै पार्टीले एकैपटक सपथ गराउनका लागि सपथ ग्रहण पछि सार्न पार्टी अध्यक्ष माधवकुमार नेपाल पनि सहमत भएको बताउनुभयो।

उहाँले भन्नुभयो – ‘एकदमै पाको काम हो। पार्टीले गर्ने भनेको यही हो। संस्थागत गर्ने निर्णय नै हो। अब त्यसपछि अरु पार्टी माओवादीभित्र पनि प्रेसर छ। कांग्रेसभित्र पनि प्रेसर छ। सबैले एकैपटक गरौँ भनेपछि ल दुई दिनभित्र टुंगिन्छ भनेपछि ठिकै छ नि त भनेर हाम्रो अध्यक्षले गर्नुभयो । यसलाई अपरिपक्व निर्णय भन्न मिल्दैन। सकभर आज नभए भोली ग्यारेन्टी हुन्छ।’उहाँले मन्त्रिपरिषद् हेरफेर गर्ने नेकपा(एकीकृत समाजवादी)को निर्णयलाई अपरिपक्व भन्न नमिल्ने बताउनुभयो । nagariknews.nagariknetworkबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार