मन्त्री फेर्न माओवादीमा पनि दबाव छ : पुन

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले पार्टीभित्र मन्त्री फेर्नुपर्ने आवाज उठिरहेको बताउनुभएको छ । संघीय संसद भवन नयाँ बानेश्वरमा पत्रकारहरुसँग कुरा गर्दै नेता पुनले पार्टीभित्र मन्त्री फेर्नुपर्ने आवाज उठिरहेको तर यस विषयमा औपचारिक छलफल भने सुरु नभएको बताउनुभयो ।

‘समाजवादीका साथीहरुले पुरै सेट फेरिसकेपछि हाम्रोमा पनि दबाव छ । कांग्रेसमा पनि दबाव छ । जसपामा दबाब छ । यो दबावलाई नेताहरुले कति थेग्नुहुन्छ थाहा छैन । हाम्रो अझै छलफल सुरु भएको छैन । अहिले फेर्नुपर्छ कि भन्नेखालका आवाजहरु उठिरहेको छ’ उहाँले भन्नुभयो ।

हालै नेकपा एकीकृत समाजवादीले सरकारमा रहेकाहरुलाई फिर्ता बोलाएर अरु नेतालाई सरकारमा पठाउन प्रधानमन्त्रीसमक्ष नाम बुझाइसकेको छ । यद्यपि सत्तारुढ गठबन्धनभित्र तत्काल मन्त्री नफेर्ने समझदारी अनुसार एकीकृत समाजवादीबाट मन्त्री भएकाहरु फिर्ता भएका छैनन् ।

नेकपा माओवादी केन्द्रका नेता गिरिराजमणि पोखरेलले संसदमा मन्त्रालयगत छलफल प्रारम्भ भएको बेलामा मन्त्री फेर्न नमिल्ने बताउनुभयो । अहिले मन्त्री हेरफेर गर्नु संयुक्त सरकारको सोचसँग मेल नखाने पनि उहाँको भनाइ छ । ‘मन्त्रालयको छलफल प्रारम्भ गर्ने अनि मन्त्रीहरु बदल्छु भनेर कहीँ मिल्छ ? यो संयुक्त सरकारको सोचसँग मेल खाएन’ नेता पोखरेलले भन्नुभयो । अनलाइनखबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार