मल कहिले र कहाँबाट आउँछ भन्ने प्रस्ट जवाफ चाहियो : भट्टराई

काठमाडौँ । नेकपा एमालेका सांसद विशाल भट्टराईले खेतीको मुख्य सिजनमा रासायनिक मलको अभाव देखिएको भन्दै मल कहाँबाट कहिलेसम्म ल्याउने भन्नेबारे प्रस्ट जवाफ दिन माग गर्नुभयो । प्रतिनिधिसभामा स्थगन प्रस्ताव पेस गर्दै उहाँले खेतीको समय गुज्रिसकेपछि जति नै मल ल्याए पनि त्यसको अर्थ नरहने बताउनुभयो ।

अहिले बजारमा रासायनिक मलको हाहाकार भएको भन्दै उहाँले धान खेतीको मुख्य सिजनमा मल उपलब्ध नहुँदा किसान मर्कामा परेको बताउनुभयो । ‘हाम्रो देशको मुख्य बाली धान, वर्षमा ६० लाख मेट्रिक टन धान आवश्यक पर्छ । १०/१२ लाख मेट्रिक टन धान अपुग हुन्छ,’ उहाँले भन्नुभयो, ‘जुन वर्ष ३० प्रतिशत आयात घटाउने भनेर बजेटमा कार्यक्रम ल्याइन्छ, त्यही वर्ष एक दाना पनि मल किसानले पाउँदैनन् । के आधारमा आयात घट्छ ?’

उहाँले केही दिनअघि कृषि मन्त्री मल खोज्न जानु भएको छ रे भन्ने आफूहरुले सुनेको चर्चा गर्दै उहाँले अगाडि भन्नुभयो, ‘हामीलाई लागेको थियो, अगाडि अगाडि मन्त्रीको गाडी, पछाडि पछाडि मलको कन्टेनर आउला भन्ने सोचेका थियौं ।’ तर अहिलेसम्म मलको उपलब्धता नभएको भन्दै उहाँले सरकारको ध्यानाकर्षण गराउनुभयो । यो सिजनमा ४ लाख मेट्रिक टन मल आवश्यक हुने भएपनि ७ हजार मेट्रिक टनमात्र मल रहेको, त्यो पनि भन्सार नाकामा छ रे भन्ने सुनेको उहाँको भनाइ थियो । मल कहिले आउँछ, कहाँबाट ल्याउँछ भन्ने प्रस्ट जवाफ चाहेर नै आफूहरुले संसदको बैठकको कार्यसूचीलाई स्थगन गर्न प्रस्ताव राखेर यो विषयमा छलफलको माग गरेको उहाँले प्रस्ट पार्नुभयो । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार