अर्थमन्त्रीले दिने जवाफमा एमालेले भाग नलिने

काठमाडौँ । नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराई प्रतिनिधिसभामा अर्थ मन्त्रालयको विनियोजित बजेटको विषयमा अर्थमन्त्री जनार्दन शर्माले जवाफ दिने कार्यसूची हटाउन माग गर्नुभएको छ ।

मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै प्रमुख सचेतक भट्टराईले अर्थमन्त्री शर्माले दिने जवाफमा एमाले भाग नलिने भन्दै कार्यसूचीबाट हटाउनु माग गर्नुभऐको हो । उहाँले बजेट निर्माण गर्ने क्रममा अर्थमन्त्रीले करका दर हेरफेर गर्न अमुक मान्छे पठाएको प्रति गम्भीर प्रश्न उठेकाले एमाले अर्थमन्त्रीको जवाफ सुन्न र छलफल गर्न तयार नभएको बताउनुभयो ।

उहाँले भन्नुभयो,‘ हिजोबाट नै संसद्‍मा अर्थमन्त्रीको विषय प्रवेश गराएका छौँ । यति गम्भीर विषयमा प्रमुख प्रतिपक्षी दलले संसद्मा उभिएर अब्जेक्सन गरिसकेपछि सभामुखले विनियोजन विधेयक माथिको छलफल जारी राख्ने भन्दै कार्यसूचीको ९ नम्बरमा अर्थ मन्त्रालय राख्नु भएको रहेछ । जब अर्थमन्त्री ज्युको काम क्रियाकलाप माथि यति गम्भीरतापूर्वक प्रश्न उठेपछि नेकपा एमालेको तर्फबाट अर्थमन्त्रीको जवाफ सुन्न र छलफल गर्न विल्कुलै तयार छैन ।

आजको कार्यसूचीबाट अर्थमन्त्रीको जवाफ हटाइयोस् । त्यसपछि मात्रै अरू मन्त्रालयहरूसँगको सम्बन्धित कुरामा बस्छौँ । छलफल गर्छौँ । सभामुखको आग्रह स्वीकार गर्छौँ । तर त्यसभन्दा अगाडि अर्थ मन्त्रालयको आजको सूचीबाट हटाउनका लागि सभामुखसँग गम्भीरताका साथ आग्रह गर्न चाहन्छु ।’ प्रमुख सचेतक भट्टराईले बैठकको ९ नम्बर सूचिमा रहेको अर्थमन्त्रीले जवाफ दिने कार्यसूची हटाए मात्रै बैठकमा भाग लिने बताउनुभयो। रातोपाटीबाट

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार