जनताको दुःख, सुखको साथी भएर काम गर्न जनप्रतिनिधिलाई उपसभापतिको निर्देशन

सुर्खेत । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरुलाई जनताको दुःख सुखको साथी भएर जनताको सेवामा लाग्न निर्देशन दिनुभएको छ । उपसभापति खड्काले जनप्रतिनिधि शासक नभएर जनताको सेवक भएकाले त्यसलाई बोली बचन र व्यवहारमा देखाउनुपर्ने बताउनुभयो ।

नेपाली कांग्रेस प्रदेशसभा क्षेत्र नं. १ ले गुर्भाकोटको मेहलकुनामा आयोजना गरेको जनप्रतिनिधिहरुलाई बधाइ तथा शुभकामना एवम् प्रशिक्षण कार्यक्रममा बोल्दै उपसभापति खड्काले आफूहरुलाई जिताउने पार्टीका कार्यकर्ता र मतदाताको चित्त दुखाउने काम नगर्न आग्रह पनि गर्नुभयो ।

‘कार्यालयमा सेवा लिन आउने सेवाग्राहीहरुलाई राम्रो बोलीबचन दिनुहोस्, सेवाग्राही कार्यकक्षमा आउँदा कुर्सीबाट उठेर दुबै हात जोडेर नमस्कार गर्नुहोस्,’ स्थानीय तह निर्वाचन परिचालन केन्द्रीय समिति संयोजकसमेत रहेका खड्काले भन्नुभयो, ‘जनताको शासक होइन्, सेवक भएर काम गर्नुहोला।’ उपसभापति खड्काले स्थानीय तह निर्वाचनमा निर्वाचित जनप्रतिनिधिहरुको काँधमा नवीन जिम्मेवारी र उद्देश्य थपिएको बताउँदै सोही अनुसार कार्य गर्न पनि आग्रह गर्नुभयो।

‘स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिले राम्रो काम गरे, पार्टीप्रति जनताको विश्वास बढ्छ, स्थानीय सरकारप्रतिको भरोसा बढ्छ,’ उपसभापति खड्काले भने, ‘आफूलाई निर्वाचित गराएका जनताले पछुताउनुपर्ने अवस्था आउन नदिनेतर्फ सधैं सचेत हुनुहोस्।’ उपसभापति खड्काले निर्वाचनका बेला परिना बगाएर जिताउने पार्टी कार्यकर्ता र मतदातालाई बिसर्नु अपराध हुने भन्दै वडा र कार्यपालिका बैठकमा निर्णय गर्नुअघि पार्टीको स्थानीय नेतृत्वसँग सरसल्लाह गर्न सुझाव पनि दिनुभयो ।

‘तपाईँहरु कांग्रेसको चुनाव चिन्ह लिएर चुनाव लड्नु भएको हो, कार्यकर्ताले परिना बगाएर तपाईँहरुलाई विजयी बनाएका हुन्,’ उहाँले भन्नुभयो, ‘निर्वाचित भइसकेपछि जिताउनेहरुलाई बिर्सनु अपराध हुन्छ, वडा तह र कार्यपालिकाको बैठकअघि पार्टीसँग सल्लाह गरेर मात्रै निर्णय गर्नुहोस्, गरेका निर्णयहरुलाई पार्टी नेतृत्वलाई जानकारी गराउनुहोस्।’

उनले निर्वाचित जनप्रतिनिधि र पार्टीबीच फरकपन देखिएको बताउँदै पार्टी केन्द्रले निर्वाचित जनप्रनिधिहरुका लागि आचारसंहिता जारी गर्न लागेको बताए। ‘निर्वाचित जनप्रतिनिधिहरु एकातिर र पार्टी अर्कोतिर हुने विगतमा देखिएको छ,’ उहाँले भन्नुभयो, ‘जनप्रतिनिधिहरुलाई पार्टीप्रति जवाफदेही बनाउनका लागि आचारसंहिता जारी गर्दैछौं।’

उपसभापति खड्काले निर्वाचनमा पराजीतहरुलाई अझ सक्रिय भएर पार्टी र जनताको काममा लाग्न निर्देशन दिनुभयो। ‘हारेका साथीहरुले सोही गाउँको छाया सरकारका रुपमा पाँच वर्ष क्रियाशिल हुनुहोस्, जितेकाहरु भन्दा अझ धेरै जनताप्रति जवाफदेही हुनुहोस्, जनताको दुःख खुशमा साथ दिनुहोस्,’ उहाँले भन्नुभयो, ‘पाँच वर्ष जनताको मन जित्नुहोस्, अर्को पटक जनताले मत दिनुहुनेछ।’ उपसभापति खड्काले आगामी प्रदेश तथा संघीय चुनावको तयारीमा जुट्न पनि नेता तथा कार्यकर्ताहरुलाई निर्देशन दिनुभयो ।

उहाँले व्यक्ति भन्दा पनि पार्टीलाई केन्द्रमा राखेर चुनावी अभियानमा जुट्न आग्रह गर्नुभयो। कार्यक्रममा कर्णाली प्रदेश सभापति ललितजंग शाहीले जनताको नजिकको सरकार स्थानीय तह भएकाले सोही अनुसार निर्वाचित जनप्रतिनिधिहरुले काम गर्नुपर्ने बताउनुभयो । ‘स्थानीय सरकार जनताको सुख, दुःखको साथी हो,’ उहाँले भन्नुभयो, ‘जनताका हरेक समस्यालाई सम्बोधान गर्नेतर्फ निर्वाचित जनप्रतिनिधिहरुले ध्यान दिनुहोला।’ nagariknews.nagariknetworkबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार