पुतलीसडकमा फूटपाथमै थुपारियो फोहोर

काठमाडौँ । काठमाडौं महानगरपालिकाले राजधानीको पुतलीसडक क्षेत्रको फोहोर व्यवस्थापन गर्न सम्झौता गरेको कम्पनीले नै पैदलमार्ग (फूटपाथ) मा फोहोर थुपार्ने गरेको छ।

काठमाडौं महानगरपालिकाबाट पुतलीसडक क्षेत्रको फोहोर उठाउने सम्झौता गरेको ‘स्वच्छ वातावरण स्वस्थ मानव जीवन’ नामक कम्पनीले नै पैदलमार्गमा फोहोर थुपारेको हो।

गाडाबाट पैदलमार्ग फोहोर थुपारिरहेको अवस्थामा भेटिएका कम्पनीका कामदार उद्धव मैनाली भने गाडी आउन समय लाग्ने भएकाले पैदलमार्गमै फोहोर थुपार्न बाध्य भएको बताउँछन्।फोहोरका कारण राजधानीमा हैजा फैलिए पनि व्यवस्थापनमा सरोकार भएका निकायको ध्यान जान सकेको छैन।

राजधानीको मुख्य सडकको पैदलमार्गमा गाडामा ल्याएर फोहोर थुपार्दा पनि स्थानीयवासी कोही पनि चुइँक्क बोल्दैनन्।ुबोले पनि केही नहुने भएकाले चुप लाग्न बाध्य छौं’, उक्त क्षेत्रमा पसल सञ्चालन गर्दै आएका रामचन्द्र श्रेष्ठ बताउँछन्।

राजधानीको अन्य भागमा फोहोर उठिरहेको अवस्थामा पुतलीसडकको पैदलमार्गमा भने फोहोर व्यवस्थापनको जिम्मेवारी पाएको कम्पनीले नै फोहोर थुपार्ने गरेको उहाँले बताउनुभयो।महानगरपालिकाले फोहोर व्यवस्थापनको जिम्मेवारी सुम्पेको कम्पनीको कामको अनुगमन नगर्दा यस्तो समस्या आएको स्थानीयवासीको गुनासो छ।

महानगरपालिकाले कुहिने र नकुहिने फोहोर वर्गीकरण गरेर व्यवस्थापन गर्न सार्वजनिक सूचना जारी गरे पनि पुतलीसडक क्षेत्रमा भने दुवै थरी फोहोर एकै ठाउँमा राखेर फालेको देखिन्छ।महानगरपालिकाले सूचना जारी गरे पनि अनुगमन गरेर फोहोर वर्गीकरण नगर्नेलाई कानुनी कारबाहीको प्रक्रियामा नल्याएका कारण यस्तो समस्या देखिएको हो। रासस

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार