माओवादी बैठकमा फेरि कम्युनिस्ट एकताको विषय प्रवेश

काठमाडौँ । नेकपा माओवादी केन्द्रमा फेरि कम्युनिस्ट पार्टीहरूबीच एकताको विषयले प्रवेश पाएको छ । आइतबारदेखि सुरु भएको माओवादीको केन्द्रीय समिति बैठकमा अध्यक्ष प्रचण्डले फेरि कम्युनिस्ट पार्टीहरूबीच एकताको आवश्यकता औँल्याउँदै सदस्यहरुको राय समेत माग गरेको एक नेताले रातोपाटीलाई बताउनुभयो ।

उहाँले आइतबार बिहानमात्रै आफ्नो तत्कालीन नेकपाका केन्द्रीय सचिवालयमा रहेका नेताहरुसँग अनौपचारिक छलफल भएको भन्दै आजै भ्याएसम्म तत्कालीन सचिवालयमा रहेका बहुमत सदस्यहरुको बैठक बस्ने तयारी भएको बैठकमा बताएको ती नेताको भनाइ छ । बैठक बसेर एकताका लागि आह्वान गर्ने योजना रहेको प्रचण्डले बैठकमा सुनाउनुभयो । वर्तमान सरकारमा काँग्रेससहितको गठबन्धन सरकार भएको सन्दर्भमा प्रचण्डले कम्युनिस्ट एकतामै जोड दिएका हुन् ।

‘फेरि नयाँ तरिकाले कम्युनिस्ट एकता गर्न सकिन्छ । नेकपाका तत्कालीन सचिवालयका नेताहरुसँग कुरा भएको छ’ उहाँले भन्नुभयो, ‘आज बिहानमात्रै पनि छलफल भएको थियो । यो बैठक आज छिट्टै सकियो भने सचिवालयको बहुमतको बैठक बस्नुपर्यो भनेर साथीहरुले भन्नु भएको छ । अपिल गर्नुपर्यो भनेर भन्नु भएको छ ।’विस्तारै फेरि वामपन्थी एकताको सम्भावना पैदा भएको उहाँको भनाइ छ । उहाँले कम्युनिस्ट एकताबारे सोमबारको बैठकमा धारणा राख्न पनि सदस्यहरुलाई आग्रह गरेको ती नेताको भनाइ छ । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार