एसपीपीमा सहभागी नहुने निर्णय अमेरिकालाई पठाउन बाँकी नै छ : परराष्ट्र मन्त्रालय

काठमाडौं । परराष्ट्र मन्त्रालयले अमेरिकी सेनाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) मा सहभागी नहुने सरकारको निर्णय अमेरिकालाई पठाउन बाँकी नै रहेको बताएको छ ।आइतबार आयोजित पत्रकार सम्मेलनमा परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले सरकारको निर्णयमाथि अध्ययन भइरहेको बताउनुभयो ।

सरकारले एसपीपीमा सहभागी नहुने भनी गरेको निर्णय अमेरिकालाई पठाउन परराष्ट्र मन्त्रालयमा पठाएको छ । परराष्ट्र मन्त्रालयले पनि सरकारको निर्णय प्राप्त भएको तर अमेरिका पठाइनसकेको प्रवक्ता लम्सालले बताउनुभयो । ‘पहिले हामीबाट पत्राचार भएको होइन । यसबारेमा अध्ययन भइरहेको छ । पठाउने भन्नेबित्तिकै हुँदैन । पहिले के(के भएको थियो भन्ने विषयमा पनि बुझ्नुपर्ने हुन्छ’ प्रवक्ता लम्सालले भन्नुभयो, ‘उपयुक्त समयमा नेपाल सरकारको निर्णयलाई डिप्लोम्याटिक च्यानलबाट पत्राचार गर्छौं ।’

यसअघि सन् २०१५ र सन् २०१७ मा नेपाली सेनाले एसपीपीमा सहभागी गराउन काठमाडौंस्थित अमेरिकी दूतावासमा पत्राचार गरेको थियो । त्यसपछि अमेरिकाले सन् २०१९ मा नेपाललाई एसपीपीमा सहभागी गराएको थियो । गत जेठमा नेपाल एसपीपीमा सहभागी भएको विषय सार्वजनिक भएपछि चौतर्फी विरोध भएको थियो । त्यसपछि सरकारले एसपीपीमा सहभागी नहुने भनी अमेरिकालाई जानकारी गराउने निर्णय गरेको थियो । अनलाइनखबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार