कटुवा पेस्तोल र गोलीसहित ३ भारतीय नागरिक पक्राउ

काठमाडौं । रुपन्देहीबाट एक थान कटुवा पेस्तोल र त्यसमा लाग्ने दुई राउण्ड गोलीसहित तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतको सिद्धार्थनगर बस्ने ३४ वर्षीय चिनक भनिने मेहि दुसेन, ५१ वर्षीय अकबर खान र ५५ वर्षीय आसिक अली रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

प्रहरीका अनुसार इलाका प्रहरी कार्यालय बुटवलबाट प्रहरी निरीक्षक युवराजजंग कार्कीको कमाण्डमा खटिएको गस्ती टोलीले उनीहरुलाई पक्रेको हो ।गएराति करिब साढे ८ बजे लुम्बिनी साँस्कृतिक नगरपालिका वडा नम्बर ६ बसपार्कबाट भारतीय नम्बर प्लेटको मोटरसाइकललाई शंका लागेर प्रहरी टोलीले पिछा गरेको थियो । प्रहरीका अनुसार पिछा गर्ने क्रममा मोटरसाइकल अनियन्त्रित भई गोरुलाई ठक्कर दिएपछि उनीहरु लडेका थिए ।

घटनास्थलमा प्रहरी पुगेर चेक गर्दा मोटरसाइकल चालक ३४ वर्षीय चिनक भनिने मेदि हुसेनको दायाँ कम्मरको पेटिबाट कालो प्लास्टिकको झोलाभित्र केएफ ९ एमएम लेखेको एक थान कटुवा पेस्तोल, २ राउण्ड गोली र एक थान चक्कु फेला परेको प्रहरीको भनाइ छ । मोटरसाइकलबाट लडेर घाइते भएका उनीहरूको प्रहरीको निगरानीमा मेडिकल कलेज भैरहवामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । प्रहरीका अनुसार उनीहरुको अनुहारमा चोट लागेको छ र अवस्था मध्यम छ । अनलानइखबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार