जागिर दिने र खोज्नेका लागि भरतपुरमा ‘रोजगार मेला’ हुँदै

चितवन । जागिर खोज्दै भौंतारिएका युवाहरूलाई लक्षित गरेर भरतपुरमा ‘रोजगार मेला’ गरिँदैछ। आगामी बुधबार र बिहीबार भरतपुरस्थित चितवन प्रदर्शनी केन्द्रमा यो मेला हुँदैछ।

भरतपुर महानगरपालिका र रत्ननगर नगरपालिकाले रोजगारको खोजीमा रहेका युवालाई लक्षित गरेर रोजगार दाता, सरोकारवाला निकाय, संघ, संस्थाहरूसँगको समन्वयमा ‘वृत्ति मार्गनिर्देशन तथा रोजगार मेला’ गर्न लागेका हुन्।युवालाई स्वदेशमै रोजगारी उपलब्ध गराउने नेपाल सरकारको नीतिअनुसार भरतपुरमा मेला आयोजना गरिएको भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबन्धु सुवेदीले बताउनुभयो।

मेलाका लागि चितवन उद्योग संघ, उद्योग वाणिज्य संघ चितवन, चितवन चेम्बर अफ कमर्स, होटल व्यवसायी महासंघ नेपाल लगायतका १ दर्जन संघ संस्थाले सहयोग गरेका छन्। यो मेला जिल्लामा न्यून र मध्यमस्तरको रोजगारी सिर्जना गर्न वा पुग्ने विश्वास आयोजकको छ।सुवेदीले यस्तो मेला स्थानीय तहले देशमै पहिलो पटक गर्न लागेको दाबी गर्नुभयो।

‘जिल्लामा रहेका उद्योग, विकास निर्माणको काममा दक्ष कामदार अहिले पनि अन्य जिल्ला, विदेशबाट ल्याउनुपर्ने बाध्यता छ। यसको अन्त्य गर्न रोजगार मेला महत्वपूर्ण हुनेछ,’ सुवेदीले भन्नुभयो । उहाँले महानगरपालिकाले नीति तथा कार्यक्रममा समावेश गरेको ‘रोजगार बैंक’को अवधारणाअन्तर्गतको कार्यक्रमका रूपमा रोजगार मेला सञ्चालन गर्न लागिएको बताउनुभयो।

‘मेलामा रोजगारदाता र रोजगारी गर्न इच्छुकको तथ्यांक संकलन गर्ने, मेलामार्फत् २०० जनाले प्रत्यक्ष रोजगारी पाउने, सीप र तालिमबारे जानकारी दिइने छ,’ सुवेदीले भन्नुभयो । मेलामा संकलन गरिएको तथ्यांकलाई अनलाइनबाट जानकारी लिन मिल्ने गरी राख्ने र रोजगार एप सुरू गर्ने महानगरको लक्ष्य छ । जिल्लाका ७ वटै स्थानीय तह, जब लिंक तथा सेन्टर, उद्योग तथा तालिम केन्द्रहरूको स्टल उक्त मेलामा रहनेछ। सेतोपाटीबाट

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार