स्याउली बजारमा अवैध क्रसर उद्योग संचालन (तस्बिरहरू)

म्याग्दी।  म्याग्दीको रघुगङ्गा गाउँपालिका–२, स्याउली बजार स्थित कालिगण्डकी नदी किनारमा दर्ताबिनै क्रसर उद्योग स्थापना भएको छ । बेनी–जोमसोम सडकखण्ड अन्तरगत पर्ने उक्त स्थानमा क्रसर सञ्चालनसम्बन्धी मापदण्ड र प्रक्रिया पूरा नगरी स्थापना भएको सो उद्योग कुनै पनि निकायमा दर्ता नभएको बताइएको छ ।

क्रसर सञ्चालनसम्बन्धी मापदण्ड र प्रक्रिया पूरा नगरी स्थापना भएको सो उद्योग कुनै पनि निकायमा दर्ता नभएको रघुंगगा गाउँपालिका वडा नम्बर २ का वडाध्यक्ष अमृत भण्डारीले सामाजिक सञ्जालमा लेख्नुभएको छ । दर्ता बिनानै क्रसर उद्योग सञ्चालन भएको जानकारी आएपछि आफूले जिल्ला प्रशासन र जिल्ला समन्वय समितिमा पत्राचार गरेको उहाँले सामाजिक सञ्जालमा लेख्नुभएको छ ।

आबश्यक मापदण्ड र प्रक्रिया पूरा नगरी क्रसर सञ्चालन गरेको भेटिएको र अनुगमनमा जाँदा त्यहाँ काम गरिरहेका व्यक्तिहरु भागेको उहाँले बताउनुभयो । स्थानीयवासीका अनुसार सुरक्षा निकाय, प्रशासन, जनप्रतिनिधि र सरोकारवाला स्थानीय तह निर्वाचनमा केन्द्रित भएको मौका छोपेर गत वैशाख महिनामा क्रसर उद्योग स्थापना भएको थियो ।

केही वर्षयता सरकारले नयाँ क्रसर उद्योग स्थापना र सञ्चालको अनुमति दिएको छैन् । सर्वोच्च अदालतले गत वर्षदेखि कालीगण्डकी नदीको बगरबाट उत्खननमा रोक लगाएको छ । विकास आयोजनाका लागि आवश्यक पर्ने निर्माण सामग्री उत्पादन र प्रशोधन गर्न अस्थायी क्रसर स्थापना गर्न पाउने व्यवस्था भए पनि सो ठाउँमा कसैले पनि अनुमति लिएको नपाइएको वडाध्यक्ष भण्डारीले बताउनुभयो ।

कालीगण्डकी नदी किनारका निजी जग्गामा क्रसर उद्योगका संरचना बनाउन थालेपछि स्थानीयवासीले विरोध जनाउँदै वडा, गाउँपालिका, जिल्ला समन्वय समिति र प्रशासनमा जानकारी गराएका थिए । प्रशासन, सुरक्षा निकाय र जनप्रतिनिधिले अनुगमन र निगरानी गरेपछि त्यसबेला क्रसर स्थापना हुन सकेको थिएन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार