मुस्ताङको नमखुलेंकमा याकचौरीको रगत खाने मेला

  म्याग्दी न्युज संवाददाता

जोमसोम । विश्वकै अग्लो उचाईको तिलिचो ताल पदमार्ग । समून्द्री सतहको झन्डै ४ हजार मिटरको अग्लो उचाईमा अवस्थित मुस्ताङको घरपझोङ–५ नमखुलेंकमा गत श्रावण ४ गतेखि १० गतेसम्म याक÷चौरीको आलो रगत खाने मेला सुरु भएको छ । मुस्ताङमा बर्सेनि बैशाख र श्रावण महिनामा याकचौरीको आलो रगत खाने मेला संञ्चालन हुने गर्छ । तर,कोरना कहरका कारण मुस्ताङमा विगत ३ वर्षदेखि लगातार याकचौरीको आलो रगत खाने मेला सञ्चालन हुन सकेको थिएन ।

पछिल्लो समय कोरोना कहरको जोखिम कम हुँदै गएपछि मुस्ताङका याकचौरी पालकहरुले ३ वर्षसम्म रोकिएको याकचौरीको आलो रगत खाने मेलालाई यसवर्ष पून ःनिरन्तरता दिएका हुन् ।त्यसो त मुस्ताङको नमखुलेंकसहित थासाङ गाउँपालिकाको मार्चे लेंकमा पनि याकचौरीका आलो रगत खाने मेला सुरु भएको जनाईएको छ ।मुस्ताङको जोमसोमदेखि ठिनी हुँदै करिव ५ किलोमिटर कच्ची सडकको यात्रा गर्दै करिव ४५ मिटरको पैदलयात्रा तय गरेपछि मनमोहक नमखुलेंकमा पुग्न सकिन्छ । निलगिरी हिमालको फेंदमा अवस्थित प्राकृतिक सौन्दर्यताले भरिएको सुन्दर नमखुलेकमा याकचौरीको आलो रगत खाने मेला सुरु भएको हो । याकचौरीको आलो रगत खान जिल्ला भित्र र जिल्ला बाहिरका उल्लेख्य सर्वसाधारण मानिस अहिले नमखुलेंकमा पुगेका छन् । बर्सेनि मौसम अनुसार बस्ती स्थान्तरण गर्दै आईरहेका याकचौरीहरुलाई गर्मी बढेपछि नमखुलेंकमा स्थान्तरण गरिएको हो ।

नमखुलेंकमा स्थानीय भुपेन्द्र शेरचन,विरबहादुर घर्ती र मनकुना थकाली लगायतका करिव ५ वटा याकचौरी गोठ छन् । त्यहाँ झन्डै करिव ५ सयको हाराहारीमा याकचौरी पालन गरिएको छ । नमखुलेंकसम्म पुग्न गण्डकी प्रदेश सरकारले कच्ची सडकमार्ग स्तरोन्निित गरेकाले याकचौरीको रगत खान जाने सर्वसाधारणलाई थप सहज भएको हो । यातायातको मार्ग बनेपछि यसपटक झन्डै ३ सय भन्दी सर्वसाधारण मानिस नमखुलेंकमा पुगेका छन् । याकचोरीको आलो रगत पिउँनाले शरिरको पेट सम्वन्धि विभिन्न रोग निको हुँने जनविश्वास छ ।हिमाली उच्चलेंकमा पालन गरिएका याकचौरीले लेंकमा पाईने यार्सा गुम्बा,पाँच औले,निरमसी,जटामसी,कुटुकी,बन लसुन र जिम्बु आदी जटिबुटी खाने भएकाले याकचौरीको आलो रगत स्वास्थ्यका लागि फाईदाजनक हुने विश्वाश गरिएको हो ।

मुस्ताङमा विगत १२ वर्षदेखि याकचौरी पालन व्यवसाय गर्दै आईरहेका जोमसोमका पशुपालक भुपेन्द्र शेरचनले चौरीको आलो रगत बिक्री गरेर पशुपालकले बैकल्पिक आम्दानी गर्ने गरेको बताए ।बर्सेनि याकचौरीको सबै खर्च कटाएर १० लाखसम्म आम्दानी गर्ने गरेका पशुपालक शेरचनले याकचौरीको प्रजनन् गराएर संख्या वृद्धि गर्ने, दुधबाट बिभिन्न परिकार बनाउने,याक बिक्री गर्ने र याकचौरीको आलो रगत निकालेर बिक्री गर्ने गरेको जानकारी दिए ।‘ याकचौरी पालनबाट पनि मनग्ये आम्दानी गर्न सकिन्छ,विदेशी पलायन हुनु पर्दैन,’पशुपालक शेरचनले भने,‘परिश्रम र मेहनत गरे स्वदेशमै पनि राम्रो कमाई गर्न सकिन्छ।’

पशुपालक शेरचनले राज्यले पशुपालकका लागि विभिन्न अनुदान र ईस्सोरेन्सको व्यवस्था गरेको भएपनि सो सुविधा प्राप्त गर्न सरकारी प्रक्रिया झन्झटिलो भएको उल्लेख गरे ।पशुपालक शेरचनले याकचौरीले हिमाली जटिबुटी खाने भएकाले याकचौरीको आलो रगत खानाले ग्यास्टिक,गानोगोला,कमजारीपना,सुगर र प्रेसर लगायतका रोगहरु निको पार्ने बताए ।

यसवर्ष याकचौरीको आलो रगत प्रति गिलास २ सय रुपैयाको दरले बिक्री वितरण गरिएको छ ।सामान्यतया एउटै याकचौरीबाट १५ गिलासदेखि ३५ गिलाससम्म आलो रगत निकाल्ने गरिएको छ ।चौरीको आलो रगत निकाल्नु अघि पशु भेटनरी चिकित्सकबाट याकचौरीको स्वास्थ्य परीक्षण गरिन्छ भने पशु सम्वन्धि बिज्ञता हासिल गरेका व्यक्तिले याकचौरीको आलो रगत निकाल्ने काम गर्छन् ।आलो रगत निकाल्नु अघि याकचौरीलाई डोरीले बाँधेर नियन्त्रणमा राखि नशामा सियोले कोपेर रगत निकाल्ने गरिन्छ ।

म्याग्दीको मालिका–५ देविस्थानकी प्रेमकुमारी फगानी याकचौरीको आलो रगत खान पहिलो पटक मुस्ताङको नमखुलेंक पुगिन् । उनले याकचौरीको आलो रगत खाँदा स्वास्थ्यलाई फाईदा पुग्ने अरु साथीहरु र छरछिमेकबाट सुनेकै भरमा रगत खान मुस्ताङ आएको बताईन् ।‘ मलाई पेट सम्वन्धि स्वास्थ्य समस्या छ,मेडिकल र आयुर्वेदिक औषधि खाँदै थिए ,तर निको भएको छैन ,याकचौरीका रगत खान आएकी फगानीले भनीन् ,‘ मसंग अरु साथीहरु पनि छन् ,हामी ३ दिन भयो लेंकमै बसेका छौं,यहाँका सबै व्यवस्थापन राम्रो लाग्यो,यहाँको एकान्त र मनमोहक सुन्दर हरियाली वातावतरणले आधा रोग त्यसै निको भएको अनुभव गरेकी छु ।’ पहिलो पटक याकचौरीको रगत खान मुस्ताङ आएकी फगानीले याकचौरीको रगत खाने कार्यक्रममा मौसमले भने राम्रो साथ नदिएको फगानीले बताईन् ।

नमखुलेंकमा संञ्चालन भईरहेको याकचौरीका आलो रगत खाने मेलामा कतिपय सर्वसाधारणले पाल टाँगेर बसेका छन् भने कतिपयले जोमसोमबाट आउजाउ गरी रगत खाने मेलामा उपस्थित भएको पाईएको छ । रगत खाने मेलामा बिहान र बेलुका गरी दिनको दुई पटक याकचौरीको आलो रगत निकाल्ने गरिएको छ । याकचौरी रगत खाने मेलामा कतिपयले त्यहाँको भौगोलिक सौन्दर्यता निकालेर मख्ख पर्ने गर्छन् भने कतिपय आपसमा नाँचगान गरी रमाईलो गरी समय बिताउँछन् ।

मुस्ताङको घरपझोङ–५, ठिनीका स्थानीइ युवा सुदिप थकाली पनि ग्यास्टिकको रोग निको पार्ने सुनेपछि पहिलो पटक याकचौरीको आलो रगत खान नमखुलेंकमा पुगे ।‘याकचौरीको मुख्य बासस्थानको हिमाली उच्चलेंकनै हो,लेंकमा बस्ने याकचौरीले हिमाली जटिबुटी खाने गर्छन्,’स्थानीय युवा थकालीले थपे,‘याकचौरीको आलो रगतले पेट सम्वन्धि समस्या निराकरण गर्छ भन्ने अरुबाट सुनेको थिए ,याकचौरीको रगतले स्वास्थ्य समस्या भएमा यसलाई पछि पनि निरन्तरता दिनेछु ।’

बर्सेनि दुई सिजन मुस्ताङमा याकचौरीको आलो रगत खाने मेला लाग्ने गर्छ ।कोरोना कहरले लाखौं रुपैया घाटा व्यवहोर्दै आईरहेको याकचौरी पालकहरुले यसपटक रगत खाने मेला सञ्चालन गरेका हुन् ।मुस्ताङमा बर्सेनि बैशाख महिनामा थासाङको बोक्सी खोलामा याकचौरीको रगत खाने बेला लाग्ने गर्छ भने बर्सेनि श्रावण महिनामा थासाङको मार्चे लेक र घरपझोङ गाउँपालिकाको नमखुलेंकमा याकचारीको आलो रगत खाने मेला सञ्चालन हुने गर्छ ।

हिमाली उच्चलेंकमा पालन गरिएका एउटै वयस्क याकचौरीको मुल्य १ लाखदेखि १ लाख ३० हजारसम्म पर्छ ।चिसो भूगोलमा हुर्काईएका याकचोरीको मासु स्वादिलो र पोसिलो हुने गर्छ । चौरीको दुधबाट दहि,घ्यु,चिज र छुर्पी लगायतका परिवारहरु बनाएर बिक्री गर्ने गरिन्छ ।याकचौरीको पुच्छर धार्मिक पुजाआजामा प्रयोग हुने भएकाले याकचौरीको पुच्छर समेत सहजै बिक्री हुने गरेको याकचौरी पालकहरु बताउँछन् । emustangnews

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार