गुर्जामा जुवातास, धुम्रपान प्रतिबन्ध

प्रभावकारी बन्दै

  म्याग्दी न्युज संवाददाता

म्याग्दी । म्याग्दीको धवलागिरी गाउँपालिका– १, गुर्जामा जुवातास बन्द गर्ने निर्णयलाई आगामी दिनमा निरन्तर कार्यान्वयन गरिने भएको छ । सोमबार गुर्जामा बसेको वडाका जनप्रतिनिधिहरुको बैठकले वडामा जुवातास बन्द र विहान ५ बजेदेखि बेलुका ५ बजेसम्म मदिरा सेवन नगर्ने निर्णयलाई आगामी दिनमा निरन्तर कार्यान्वयन गरिने निर्णय गरेको हो ।

२०७५ सालमा जुवातास बन्द र मदिरा सेवनमा समय तालिका निर्माण गरेपछि परिवारमा झैझगडा कम, जुवातास र दिनमा मदिरा सेवन गर्नेहरु आयआर्जनमा आकर्षित, विकास निर्माणमा सहभागि, परिवारको आयस्रोतमा बृद्धि र समाजमा विकृतिहरु न्यूनिकरण र सभ्य समाजमा निर्माणमा सहयोग पुगेको कारण यसलाई निरन्तरता दिएको वडाअध्यक्ष झकबहादुर छन्त्यालले बताउनुभयो । ‘वडा कार्यालय, आमासमुह र युवा क्ल्वको पहलमा २०७५ सालमा गुर्जामा जुवातास बन्द र मदिरा सेवनका लागि समय तालिका तोकिएको थियो’,– छन्त्यालले भन्नुभयो – यस निर्णयको सकारात्मक प्रभावले यसलाई निरन्तरता दिने र हरेक हप्ता सरसफाई अभियान गर्ने निर्णय वडा समितिले थपेको छ ।

वडाको निर्णय विपरित जुवातास खेल्ने र मदिरा सेवन गर्नेलाई नेपालको प्रचलित कानुन बमोजिम कारबाही गरिने निर्णय गरिएको छ । भने, मदिरा सेवन गर्ने पहिलो पटक सम्झाउने, दोस्रोपटक मदिरा सेवन गरेमा एक सय रुपैयाँ जरिवाना र तेस्रो पटक नियम उल्लङ्गन गरेमा दोब्बर जरिवानासंगै नेपालको प्रचलित कानुन बमोजिम कारबाही गरिने निर्णय प्रभावकारी रुपमा कार्यान्वयन गरिने वडा अध्यक्ष छन्त्यालले बताउनुभयो ।

गुर्जालाई सफा र स्वच्छ बनाउने निर्णयलाई प्रभावकारी कार्यान्वयनमा सहयोग पु¥याउने ब्यक्ति वा परिवारलाई सम्मानसहित पुरस्कार दिने समेत निर्णय वडासमितिले गरेको छ । जुवातास बन्द र मदिरा सेवनमा लगाईएको समय तालिकाले विकास आयोजना कार्यान्वयमा सहज, कृषि उत्पादनमा बृद्धि, जडिबुटी संकलनमा आकर्षित र परिवार तथा समाजमा शान्ति कायममा सहयोग पुगेको अनुभव वडा अध्यक्ष छन्त्यालले सुनाउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार