पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध

  म्याग्दी न्युज संवाददाता

बेनी । म्याग्दी र मुस्ताङको सिमाना स्थित काभ्रेभीर सडकमा सुख्खा पहिरो गएको छ। बेनी–जोमसोम ७६ किमी सडकको काभ्रेभीर सडकमा सोमबार बिहान करिब ११ बजे पहिरो गएको मुस्ताबाट संघिय सांसद प्रेमप्रसाद तुलाचनले जानकारी दिनुभयो ।काभ्रेभीर सडकको सिमाना नजिक पैरोथाप्ला जाने झोलुङ्गे पुल देखि उत्तरतर्फ करिब ५ सय मिटर मुस्ताङतर्फको सडकमा सुख्खा पहिरोले सडक पुरिएको
बेनी–जोमसोम–कोरला सडकका  सुपरभाइजर ईन्द्रसिङ शेरचनले जानकारी दिनुभयो ।

बेनी–जोमसोम–कोरला सडक आयोजना प्रमुख जगत प्रजापतिका अनुसार बिहान ११ बजेतिरबाट पहिरो गइरहेको छ । म्याग्दी र मुस्ताङको सिमाना काभ्रेभीरमा सुख्खा पहिरो गएपनि कालिगण्डकी नदी फराकिलो स्थानमा भएकाले कालिगण्डकी नदी थुनिने खतरा नरहेको आयोजना प्रमुख प्रजापतीले उल्लेख गर्नुभयो।

‘काभ्रेभीर सडक माथिबाट चट्टान र माटो खसेको हो। सुख्खा पहिरोले सडक अवरुद्ध भएको छ, पहिरो रोकिएपछि सडक खुलाउने पहल गर्नेछों ’उहाँले भन्नुभयो , ‘हामीले आवश्यक उपकरण प्रयोग गरी सडक खुलाउनतर्फ लाग्छौ, एक दुई दिनमा सडक खुल्न सक्छ।’

यसअघि मुस्ताङको थासाङ गाउँपालिका–३, कैकु खोलामा बाढीले सडक क्षति हुँदा सडक अवरुद्ध भएको थियो। कैकु खोलामा सडक अवरुद्ध भएकाले म्याग्दीबाट काभ्रेभीर हुँदै सवारी माथि जान पाएका थिएनन्। सुख्खा पहिरोले कुनै मानवीय तथा अन्य धनजनको क्षति नभएको आयोजना प्रमुख प्रजापतीले बताउनुभयो।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार