मालिका गाउँपालिका–४को छिपछिपे र सल्लेनमा पहिरोले ६ घर विस्थापित ,विद्युत सेवा अवरुद्ध

  म्याग्दी न्युज संवाददाता

बेनी । म्याग्दीको मालिका गाउँपालिका वडा नम्बर ४ स्थित छिपछिपेमा पहिरोले पाँच घर विस्थापित भएका छन् । भने महभिर स्थित सल्लेनमा एक घर विस्थापित भएका छन् । गाउँपालिका कार्यपालिका सदस्य दलबहादुर खड्काथोकीका अनुसार,पहिरोले छिपछिपेमा केश बहादुर गोतामे, नरबिर गोतामे, तुलराम गोतामे ,तिर्ख बहादुर गोतामे र रमेश गोतामेका परिवार विस्थापित भएका हुन् । भने सल्लेनका टेकबहादुर श्रीपाली परिवार पनि विस्थापित भएका छन् ।

१६ र १७ गते अविरल बर्षात संगै बस्ती माथिबाट आएको पहिरोले वडा नम्बर ४का छिपछिपे र सल्लेनमा गरी ६ घर विस्थापित भएको कार्यपालिका सदस्य खड्काथोकीले बताउनुभयो । वडा कार्यालय जाने दरबाङ–फुलबारी–महभिर–च्युरिबोट सडक समेत अवरुद्ध भएको उहाँले जानकारी दिनुभयो । सल्लेनका पहिरो पीडितलाई सामुदायीक दलित भवनमा सारिएको छ ।

च्युरिबोट स्थि परिवर्तन युवा क्लबका सचिव मदन पुनले क्लबको अगुवाईमा छिपछिपेका पहिरो पीडित परिवारलाई उद्धार गरी सुरक्षित स्थानमा सारिएको बताउनुभयो । यसैगरी स्वरबोटमा समेत दाजुङ खोलामा आएको बाढीले कटान गरेको छ । छिपछिपेमा बस्ती माथिबाट आएको पहिरोले केशबहादुरको घर चर्किएको छ । भने अन्य उच्च जोखिमा रहेका छन् ।

यसैगरी खोलामा आएको बाढीले नहरमा क्षती पु¥याएपछि ३० किलोवाट क्षमताको दाजुङ खोला लघुजलविद्युत आयोजनाको उत्पादन समेत बन्द भएको दाजुङ खोला लघु जलविद्युत सहकारी संस्था लिमिटेड व्यवस्थापन समितिका अध्यक्ष नन्द बहादुर घर्तीले जानकारी दिनुभयो । उहाँका अनुुसार ,मर्मत पछि छिट्टै विद्युत सेवा सुचारु हुनेछ । विद्युत आपुर्ति थप्प हुँदा करिब चार सय घरधुरी प्रभावित भएका छन् ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार