पहिरोको उच्च जोखिममा बेनीको क्याम्पसचोक (फोटो फिचर )

  म्याग्दी न्युज संवाददाता

म्याग्दी। म्याग्दीको बेनी नगरपालिका वडा नम्बर ८को क्याम्पसचोक क्षेत्र पहिरोको उच्च जोखिममा परेको छ । बजार माथि रहेको खरेनी र खोरियाको पाखोमा पहिरो चल्न थालेपछि सदरमुकाम बेनी बजार स्थित क्याम्पसचोक, गणेशटोल, पिपलचोक र कालीपुल जोखिममा परेको हो । पहिरोको फेदीमा रहेको बजार क्षेत्रमा बाढी आउने जोखिम रहेको खोरियाका नारायण शर्माले बताउनुभयो । उहाँका अनुसार,बेनी नगरपालिका वडा नम्बर ६ र ८ को सिमानमा पर्ने उक्त क्षेत्रमा करिब दुई बर्षदेखि सुरु भएको पहिरो खस्न अझै रोकिएको छैन् ।

करिब तीन सय घर पहिरो र बाढीको जोखिममा रहेका छन् । क्याम्पसचोकदेखि करिब आठ सय मिटर माथिको पाखोमा दुई वटा पहिरो छन्। सो क्षेत्र करिब करिब ५०० मिटर लम्बाई र ५०० मिटर चौडाई क्षेत्रफलमा फैलिएको छ । ‘यो क्षेत्रमा करिब दुई बर्षदेखी पहिरो खस्न थालेको हो । गत बर्ष साउनमा पहिलेको भन्दा ठुलो पहिरो खस्दा पाखो क्षेत्रको ठुलो भुभाग झनै चिरा–चिरा परेको छ,’ उहाँले भन्नुभयो ‘यो पहिरोले चार वटा टोल र म्याग्दी बहुमुखी क्याम्पस समेत जोखिममा परेको छ।’

पहिरोले साबिकको ठाउँ भन्दा करिब चार मिटर तल जमिन लच्किएको छ । बलौटे माटो भएको पाखोमा जमनि धाँजा फाटेर करिब दुई सय भन्दा बढी सल्लाका रुख ढलेका छन् । बेनी नगरपालिका–६,मा पर्ने आँपको रुखदेखि सार्कीटोल जोड्ने सडकका कारण पहिरो सिर्जना भएको खोरियाकी निसा सुवेदीले बताउनुभयो । उहाँका अनुसार ,सडक खन्दा डोजरले पाखोमा फालेको माटो बगेर सिर्जना भएको पहिरोले ठूलो रुप लिन थालेको हो ।

क्याम्पसचोक क्षेत्रमा बाढीको निकासका लागि बेनी नगरपालिकाले घर खरिद गरेर नाली बनाएको भएपनि सो नालीको क्षमता भन्दा ठुलो बाढी आउने गरी नयाँ पहिरो सिर्जना भएपछि बजारबासी चिन्तित भएका छन् । सल्लाको जंगलको बिचमा खनिएको सडकको तल र माथि दुबै तर्फ पहिरोले जमिन भासिएको छ ।

पहिरोका कारण सामान्य बर्षात हुँदा समेत क्याम्पसचोक र कालीपुल क्षेत्रमा बाढी आउन थालेको छ । करिब १२ बर्षदेखि क्याम्पसचोकमा बर्खा याममा पाखोबाट आउने बाढी पसेर डुबान हुने समस्या छ । वडा सदस्य हिराबहादुर पुनका अनुसार , गत बर्ष पहिरोको फेदी देखि क्याम्पसचोक हुदै कालीपुलको मोटरेबल पुल सम्म नहर बनाएर खोल्साको पानी र बाढी व्यवस्थापन गरिएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार