रघुगंगा गाउँपालिकाको सार्वजनिक सुनुवाई

  म्याग्दी न्युज संवाददाता

म्याग्दी । म्याग्दीको रघुगंगा गाउँपालिकाद्धारा आयोजित सार्वजनिक सुनुवाई कार्यक्रममा सहभागीहरुले गाउँपालिकाले संरक्षण सहितको विकास निर्माण संचालन गर्न र प्रभावकारी सेवा प्रवाहमा ध्यान दिनुपर्ने बताएका छन । शनिबार गाउँपालिकाको आयोजनामा सम्पन्न भएको सार्वजनिक सुनुवाई कार्यक्रममा सहभागीहरुले गाउँपालिकामा संचालनमा रहेका ठुला आयोजनाहरुको निर्माणले स्थानीयलाई सास्ती बनाएकाले त्यसतर्फ गाउँपालिकाको ध्यानाकर्षण गराएका हुन ।

निर्माणाधिन अवस्थामा रहेका राहुघाट, अपर राहुघाट, स्यानोखोला, अपर ठुलोखोला लगायतका जलविद्युत परियोजनाहरुले काम गर्दा वातावरणीय प्रभावको बिषयलाई कुल्चिदै गएको प्रति स्थानीयले गुनासो गरेका छन । सम्झौतामा उल्लेख भए अनुसारको काम भएको छ कि छैन भनेर गाउँपालिकाले निगरानी राख्न आवश्यक भएको सहभागीको भनाई थियो ।

सार्वजनिक सुनुवाइमा सहभागीहरुले पर्यटकीय क्षेत्र टोड्केमा निर्माणाधीन हाईअल्टिच्युडको खेलमैदान निर्माण कार्य रोकिएको, झिँ–पाखापानी सडकलाई स्तरउन्नति गर्नका लागि बजेट विनियोजन नभएको, अजिङ्गर भीरमा झरनाको पानी व्यवस्थापन नगरेको, पालिकाले निर्धारण गरेको निर्माणका सामग्रीको दररेट र खरिद तथा ढुवानी गर्दा विनियोजित बजेट अपुग भएको सम्वन्धी प्रश्न उठाएका थिए ।

त्यस्तै सानातिना योजनामा हुने ठेक्काप्रणाली हटाउनुपर्ने, समूहभन्दा व्यक्तिगत रुपमा खानेपानीको पाइप वितरण गरिएको, बेगखोलामा अस्पताल निर्माणमा ढिलाई भएको, स्थानीय उत्पादनलाई प्रवद्र्धन गर्ने नीति नवनाएको, वडा नम्वर ८ कुइनेमंगलेमा सामाजिक सुरक्षाभत्ता गाउँमै वितरण गर्नुपर्ने जस्ता विषयहरु उठाएका थिए । त्यस्तै कार्यक्रममा नागरिकता तथा जन्मदर्ता र नदीजन्य पदार्थ उत्खनन्को विषयमा पनि सहभागीले जिज्ञासा राखेका थिए ।

कार्यक्रममा गाउँपालिका अध्यक्ष भव बहादुर भण्डारीले स्थानीय श्रोत र साधनको प्रयोगमा सहजता हुने गरि गाउँपालिकाले नीति बनाउन लागेको बताउनुभयो । उहाँले पालिका भित्र निर्माणाधिन अवस्थामा रहेका हाइड्रो पावर कम्पनीहरु संग पटक पटक छलफलमा वसेको स्थानीयको गुनासोलाई सम्वोधन हुने गरि काम अगाडि बढाउन निर्देशन दिईएको बताउनुभयो । झिं– पाखापानी, भगवति– बेग तिप्ल्याङ बेग बाँदुक लगायतको सडक स्तरउन्नतिका लागि पालिकाले प्रदेश सरकारसंग बजेटको माग गरेकोले सडक मर्मतको कार्य संचालन गरिने बताउनुभयो ।

प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले सहभागीले उठाएका प्रश्नहरुको जफाव दिदै रोकिएका योजनाहरुको भ्याद थप भएकाले तुरुन्तै संचालनमा ल्याईने बताउनुभयो । उहाँले उपभोक्ता समितिले योजनालाई ठेक्कामा लगाउने गरेकाले कामको गुणस्तरीयता कम हुनुका साथै भुक्तानी लगायतका प्रक्रियामा समस्या उत्पन्न भएको बताउँदै त्यस्तो कार्य नगर्न र नगराउन स्थानीयलाई आग्रह समेत गर्नुभएको छ ।

कार्यक्रमको प्रमुख अतिथि समेत रहेका जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख राजकुमार थापा र प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी राना र विषयगत शाखाका प्रमुखहरुले पनि उठेका सवालहरुको जवाफ दिनुभएको थियो । सार्वजनिक सुनुवाई कार्यक्रमको पत्रकारत्रय प्रताप बानियाँ, अमित विश्वकर्मा र धिरन खत्रीले सहजीकरण गरेका थिए ।

यसैगरि गाउँपालकाले आर्थिक वर्ष २०७८÷०७९ को वार्षिक समीक्षा कार्यक्रम पनि सम्पन्न गरेको छ । गत वर्षमा गाउँपालिका र विषयगत शाखामार्फत कार्यसम्पादन भए गरेका कार्यक्रम तथा सञ्चालित योजनाहरुको बारेमा प्रस्तुतीकरण गरिएको थियो । उक्त कार्यक्रममा आर्थिक प्रशासन शाखा, प्राविधिक, शिक्षा, स्वास्थ्य, आयुर्वेद, पशुसेवा, कृषि, राजश्व तथा आन्तरिक लेखापरीक्षण, विपद् व्यवस्थापन, न्यायिक समिति, जिन्सी, महिला बालबालिका तथा ज्येष्ठनागरिक शाखाबाट प्रस्तुतीकरण भएको थियो ।

गाउँपालिकाका अध्यक्ष भण्डारीको अध्यक्षता, उपाध्यक्ष प्रेमकुमारी पुनको स्वागत र प्रमुख प्रशासकीय अधिकृत सुवेदीको सञ्चालनमा सम्पन्न कार्यक्रममा प्रवक्ता मनकुमार शेरपुन्जा र चिमखोलाका वडा अध्यक्ष थकबहादुर पाईजाले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार