गलेश्वरमा माछापुच्छ्रे बैंकको क्युआर कोड सेवा (तस्बिरहरु)

एक लाख बढी दान

  म्याग्दी न्युज संवाददाता

धनिलाल गर्बुजा
गलेश्वर । म्याग्दीको बेनी नगरपालिका वडा नम्बर ९ स्थित प्रसिद्ध गलेश्वर मन्दिरमा माछापुच्छ्रे बैंक लिमिटेडले क्युआर कोड हस्तान्तरण गरेको छ । गलेश्वरमा सोमबार आयोजित एक कार्यक्रमका विच बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले बेनी नगरपालिकाका प्रमुख सुरत केसी मार्फत गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष माधवप्रसाद रेग्मीलाई क्युआरकोड हस्तान्तरण गर्नुभएको हो ।

क्युआर कोड मार्फत भक्तजनले विद्युतीय माध्यमबाट दान र भेटी कोषको खातामा जम्मा गर्न सक्ने भएका छन् । प्रमुख कार्यकारी अधिकृत कोइरालाले वित्तीय कारोबारलाई पेपर र फेसलेस बनाउने अभियान अन्तरगत क्युआरकोड प्रबिधिको विस्तारमा जोड दिएको बताउनुभयो ।भिडिओ हेर्नुहोस् …

क्युआरकोडको प्रयोगले पैसा बोक्नु नपर्ने भएपछि नोट पानीले भिज्ने, नष्ट हुने र गणना गर्नुपर्ने झञ्जट हट्नुका साथै छिटो र प्रभावकारी हुने नेपाल राष्ट्र बैंकको गण्डकी प्रदेश प्रमुख डाक्टर रामशरण खरेलले बताउनुभयो ।नगरप्रमुख सुरत केसीले बैंकिङ क्षेत्रमा विकास भएको डिजिटल प्रणालीले पारदर्शीता कायम गर्न सहयोग गरेको बताउनुभयो । उहाँले बैंकलाई उत्पादनमुलक र रोजगारी सिर्जनाको क्षेत्रमा लगानी बढाउन सुझाव दिनुभयो ।

प्रमुख जिल्ला अधिकारी चिरञ्जिवी रानाले कम समय र लागत तथा झञ्जट रहित, पारदर्शी कारोबारका लागि प्रविधिको प्रयोगका विषयमा आम नागरिकलाई विश्वास दिलाउने चुनौति भएको बताउनुभयो । सो कार्यक्रममा पोखरा १८ सारङकोटकी जरीना क्षेत्रीले आफ्नो २ बर्षीय छोरा अजलान क्षेत्रीको स्वास्थ्य लाभको कामना गरेर एक लाख पाँच रुपैयाँ भेटी चडाउनुभएको थियो ।

माछापुच्छ्रे बैंकले बेनीको गलेश्वर, तातोपानी कुण्ड, बेनी शिवालय, दुर्गा भगवति मन्दिरमा क्युआर कोड राखेको बैंकका नायव डिजिटल बैंकिङ अधिकृत बिनय रेग्मीले बताउनुभयो । मठमन्दिरमा क्युआर कोडबाटै भेटी र दान गर्न सकिनुका साथै तातोपानी कुण्डको टिकट काट्न सकिने व्यवस्था मिलाइएको माछापुच्छ्रै बैंकको बेनी शाखा प्रमुख यादव आचार्यले बताउनुभयो ।

क्युआर कोड हस्तान्तरण कार्यक्रममा बेनी नगरपालिकाका उपप्रमुख ज्योति लामिछाने, म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष बेलबहादुर कटुवाल, माछापुच्छ्रे बैंकका ब्यवसाय अधिकृत अजय आचार्य, कर्मचारी संघका अध्यक्ष विकास श्रेष्ठ लगायतको उपस्थिति थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार